कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र


     एभरेस्ट आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित




असार १६ पोखरा । कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा असार १२ गते एक समारोहका बीच क्याम्पसलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

लामो समयदेखिको मेहनत र प्रयास पछि सबै चरण पार गरी क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ ।

यस किसिमको प्रमाणपत्र प्राप्त गर्न आबेदन दिने क्याम्पसहरुले विभिन्न मापदण्ड र प्रक्रिया पुरा गरि प्रमाणपत्र प्राप्त गर्न लामो समयको अबधि लाग्ने गरेकोमा कालिका बहुमुखी क्याम्पसले २ बर्ष ७ महिना अबधिमा नै आबश्यक सबै प्रक्रिया र मापदण्ड पुरा गरेर प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । क्याम्पसका प्रमुख बिरन्जी गौतमका अनुसार विश्वबिद्यालय अनुदान आयोगले यति छोटो समयमा प्रमाणपत्र दिएको क्याम्पस संभवत कालिका बहुमुखी क्याम्पस नै पहिलो हो । क्युएए प्रमाणपत्र प्राप्त गर्नुलाई क्याम्पसको महत्वपूर्ण उपलब्धीको रुपमा ब्याख्या गर्दै क्याम्पस प्रमुख गौतमले बुधबार क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका हुन।

‘शिक्षण पद्धतिमा सुधार ल्याउन सके, नतिजा समयमै प्रकाशित गर्न सकेमा तथा ४ वर्षे भनेर तोकिएको कोर्स ४ वर्षभित्रै पूरा गर्न सके शिक्षा क्षेत्रमा विकास हुन्छ,’ गौतमले भने, उद्योग, सरकारी र शैक्षिक संस्थाबिच समन्वयन भएमा बेरोजगारी समस्या कम हुने थियो । उद्योगले कस्तो जनशक्ति खोजेको छ शैक्षिक संस्थाले त्यस्तै जनशक्ति उत्पादन गर्नसक्नुपर्छ ।’

क्याम्पसमा बिएएलएलबि, बिसिएम र बिएएचएम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको क्याम्पसका प्रमुख गौतमले जानकारी दिए । आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको उनको भनाइ छ ।

लामो समयको निरन्तर मेहेनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पसले क्युएएको प्रमाणपत्र गरेसँगै आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसिले बताए । प्राप्त उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उनले बताए ।‘यो ऐतिहासिक सफलता हो तर पूर्ण सफलता भने होइन । थप सफलताका लागि मेहनत र प्रयास निरन्तर गर्नुपर्छ । क्याम्पसको सफलताका लागि निरन्तर लागिरहने छु,’ उनले भने ।

क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायत अन्य सुविधा प्राप्त हुने गर्छ ।

कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १५५० विद्यार्थी छन् । क्याम्पसमा एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।