असार १७ पोखरा । पोखरामा चितुवाको आतङ्कबाट स्थानियलाई जोगाउन मोवाइल एसएमएस प्रणाली जडान शुरु गरिएको छ ।
जनावर र वन्यजन्तुको द्वन्दको क्षेत्रमा काम गर्दै आइरहेको ग्रिन गर्भनेन्स नेपालको पहलमा पोखरा महानगरपालिका वडा नम्वर ३१ र ३२ को ग्रामिण क्षेत्रमा यस्तो प्रणाली जडान गरिएको हो । मानव वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि नव प्रर्वतन कार्यक्रम अन्र्तगत पोखरा महानगरको बेगनास र रुपाताल क्षेत्रमा पर्ने दुई वडाका विभिन्न गाउँहरुलाई जोडेर यो कार्यक्रम शुरु गरिएको संस्थाका कार्यक्रम अधिकृत अर्जुन भुषालले जानकारी दिए ।
यूएसएआईडी बायोडाइर्भसिटीको सहयोगमा सञ्चालित कार्यक्रम वस्तीमा चितुवा प्रवेश गरेको जानकारी एसएसको माध्यमबाट स्थानियको मोवाइलमा नेपाल टेलिकम संगको सहकार्यमा ‘यस्तो ठाउँमा चितुवा देखियो, सर्तक रहनु होला’ भन्ने प्रकृतिको सुचना जाने गरि प्रणाली जडान गरिएको कार्यक्रम अधिकृत भुषालले जानकरी दिए । उनका अनुसार सो क्षेत्रमा जडान गरिएका सेन्सरयु्क्त क्यामेराले चितुवाको स्क्यानिङ गर्ने र त्यसको जानकारी क्यामेरामा रहेको माइक्रो कम्यूटरको माध्यमबाट स्थानियको मोवाइलमा म्यासेज जाने गरि प्रणालीको विकास गरिएको हो । उनले भने, ‘यो प्राणली पाइलट प्रोजेक्टका रुपमा कास्कीको रुपा र बेगनासतालको क्षेत्रलाई लक्षित गर्दै सञ्चालन गरेका छौं । वन्यजन्तुका कारण समुदायमा क्षति कम गर्नका लागि यो प्रणालीको शुरुवात नेपाल टेलिकमसंगको सहकार्यमा शुरु गरेका हौैं ।’ यस्तो ‘अलर्ट’ प्रणालीले चितुवासहितका हिंस्रक जनावरको क्षतिबाट समुदायलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे ।
हालै पोखरा ३२ स्थित डाडाँगाँउमा एउटा क्यामेरा जडान गरि शुरु गरिएको यो कार्यक्रम रुपा र बेगनास वरपरका थप १० स्थानमा जडान गरिने उनले बताए । उनका अनुसार उच्च प्रविधियुक्त नाइटभिजन सहितका क्यामेराले २० मिटर आसपाससम्म स्क्यानिङ क्षमतामा राख्ने गर्दछ । उक्त प्रविधियुक्त क्यामेरा तथा प्रविधिको निर्माण नेपाली ईञ्जिनियर द्वय भाष्कर रसाइली र सरोज वेलवासेले डिजाइन गरेका गरेका हुन् । सो क्यामेराको मूल्य ६० देखि ७० हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।
ग्रिन गर्भनेन्स नेपालले शुरु गरेको कार्यक्रमले आफुहरुमा ढुक्क हुने वातावरण बनेको पोखरा–३२ डाडाँगाउँका स्थानिय घनश्याम कुँवरले बताए । उनले साँझ बिहान मेलापात आउँदा जाँदा ढिलो हुने घरमा पालेका बाख्रा, कुखुरा, कुकुर लगायतमा हुने क्षति न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनले भने, ‘केही वर्ष पहिले यही माथि एक जना बालकलाई चितुवाले आक्रमण गरेको थियो । यो कार्यक्रम शुरु भइसकेपछि अब भने केही ढुक्क भएको महशुश भएको छ । अब साँझ बिहान मेलापात गर्दा ढिलो हुँदा सम्भावित दुर्घंटनाबाट जोगिनुका साथै घरमा पालेका बाख्रा, कुखुरा, कुकुर लगायत घरबाटै थुतेर लाने समेत समस्या केही हदसम्म न्यनीकरण हुन्छ भन्ने लागेको छ ।’
संस्थाले यसका अलवा समुदायमा १५० घरधरीमा बाख्राको खोर सुधार, बाँदर धपाउन ‘एक्योस्टिक सेन्टर’को अवधारणा पनि लागु गर्ने तयारी गरिरहेको कार्यक्रम अधिकृत भुषालले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







