सरकार परिवर्तन संविधान संशोधन गर्नको लागि हो : पूर्वमुख्यमन्त्री अधिकारी


     एभरेस्ट आवाज    
     असार १८ गते २०८१ मा प्रकाशित




असार १८ पोखरा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उनले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताए । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उनको दावी छ ।

‘केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’ उनले भने ।

हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संसोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उनले गराए ।

‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले प्रष्ट पारे ।

यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने बताए ।

गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाए । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्या समेत जम्मा एक जनामा झारिने खुलाए ।

‘समानुपातिकतर्फकोलाई एउटा संख्यामा पु¥याएर राष्ट्रिय सभामा पु¥याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सातवटाबाट घटाएर एकैजनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताए । यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उनको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उनको भनाई छ ।

‘प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउदैनौ कसैप्रति विरोध पनि गर्दैनौ हामी सबै मिलेर देश बनाउँछौ’ उनले भने । यो व्यवस्थामाथि अराजकता आउँदाखेरी व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उनको भनाई थियो ।

राष्ट्रिय युवा संघ नेपाल कास्कीले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने बताए । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायतले बोलेका थिए ।

राष्ट्रिय युवा संघ नेपालले ३ लाख विरुवा रोप्ने लक्ष्य राखेकोले सोही अनुसार ७३ औं मदन जयन्तीको अवसरमा कार्यक्रम गरिएको कास्की अध्यक्ष शंकर पौडेलले खुलाए ।

कार्यक्रम मार्फत शिवशक्ती आधारभुत विद्यालयको प्राङ्गणमा भएको वृक्षरोपण कार्यक्रममा कुल ४ सय ८४ वटा फलफुलका विरुवा रोपिएको अध्यक्ष पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।