पोखरा, असार २२
डा.पुरन राईको कथा संग्रह ‘अस्तु’को पोखरामा शनिबार परिचर्चा गरिएको छ । पुछारसिटे अभियानको आयोजनामा पूर्व खोटाङमा जन्म भई काठमाडौंलाई कर्मथलो बनाएका राईको हालै प्रकाशित ‘अस्तु’ कथा संग्रहमाथि पोखरामा परिचर्चा गरिएको हो ।

बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कथा संग्रह ‘अस्तु’माथि साहित्यकार सञ्जीप पौडेलले परिचर्चा गरेका थिए । उनले राईको कथा संग्रह ‘अस्तु’ मा ६ वटा कथा रहेको र ती कथाहरुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)सँग मान्छेले गरेको संघर्ष र त्यो संघर्षमा मान्छे पराजित भएको देखाएर नियतीवादी कथा लेखिएको बताए । जसमा ग्रामिण परिवेश, गाउँ छाडेर सहर पस्ने र सहरबाट विदेश जाने पछिल्लो ट्रेण्डलाई यथार्थवादी दृष्टिकोणमा प्रस्तुत गर्दै अन्ततः गाउँ फर्किएर फेरी जीवनका लागि संघर्ष गरेको देखाएर कथाकारले अहिलेको नेपाली ग्रामिण परिवेशलाई उजागर गरेको बताए । सामाजिक विषय वस्तुमाथि लेखिएको कथा अब्बल भएपनि भाषागत कमजोरी भने देखिएको टिप्पणी गरे ।

बरिष्ठ साहित्यकार सरुभक्तले विभिन्न जातजातीका साहित्यकारहरुले कलम चलाउँदा नेपाली साहित्य समृद्ध भएको बताए । ‘डा.पुरन राईको कथालेपनि स्थानियता पस्केको छ । जसले साहित्यलाई समृद्ध बनाएको छ ।’ उनले समाजमा विविधता भएजस्तै साहित्यमा पनि विविधता हुनु राम्रो बताएको बताए ।

कथाकार डा.पुरन राईले आफूले महामारीका रुपमा आएको कोभिड–१९ का कारण नेपाली समाजले गुमाएको रोजगारी, मनोरञ्जन, आयश्रोत खोसिदा गाउँबाट सहर र सहरबाट विदेशिनु परेको बाध्यता तथा विदेशमापनि समस्या आएपछि गाउँ फर्किएर गरेको संघर्षलाई कथाको माध्यमबाट प्रस्तुत गरेको बताए ।

कार्यक्रममा कथाकार डा.पुरन राईले सञ्चालन गरेको अनलाईन अभियानद्वारा पोखरेली श्रष्टाहरु सरस्वती श्रेष्ठ (सरु), दीपक समीप, ईश्वरमणी अधिकारी र सञ्जीप पौडेललाई सम्मान गरिएको थियो ।

पुछारसिटे अभियानका संयोजक सुरज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार दीपक समीपले कथाकार डा.पुरन राईको परिचय राखेका थिए । सो अवसरमा पूवाञ्चल सेवा समाज पोखराका पूर्व अध्यक्ष तथा किराँत सेवा समाज कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र राईले प्रमुख अतिथि सरुभक्त र कथाकार राईलाई फेटा र खादा लगाएर स्वागत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ…






