असार २४ पोखरा । नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले खारेजीको प्रक्रियामा लगेको संस्थानलाई रोक्न सफल भएको बताएका छन् । महाप्रबन्धक श्रेष्ठले संविधानले दिएको अधिकारलाई खानेपानी संस्थानले हरप्रकारले उपभोक्ताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल खानेपानी संस्थान तालिम शाखाद्वारा आयोजित ४ दिने पानी परीक्षण तालिमको समापन गर्दै महाप्रबन्धक श्रेष्ठले कर्मचारी सेवा शर्त विनियमावली साउन मसान्तसम्ममा ल्याउने ठोकुवा गरे । जाइका आयोजनाको कामलाई जनशक्तिको अभावमा प्रभाव पार्न नहुने भन्दै हरेक शाखाबाट पोखरामा सम्पन्न हुन लागेको जाईका आयोजनामा जान कर्मचारीहरुलाई आग्रह गरे ।
तालिम शाखा प्रमुख निरण महर्जनको अध्यक्षतामा सम्पन्न भएको ४ दिने पानी परीक्षण तालिममा खानेपानी मन्त्रालयका सहसचिव राजाराम दाहालले मर्न लागेको संस्थानलाई व्युत्याईएको प्रसंग कोट्याउँदै केही महिनामै फरक पाउने बताए ।
विनियमावली आउनेमा ढुक्क हुन सवै कर्मचारीलाई अनुरोध गरेका दाहालले संस्थानले पाएको नयाँ नेतृत्वले केही गर्नेमा आफूपनि आशावादी भएको बताए ।
कार्यक्रममा प्रशिक्षक सिनियर केमिष्ट अनुराधा ज्ञवालीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन् ।
तालिम समापनसँगै सुरक्षित खानेपानी वितरण, अनिवार्य परीक्षण, जोखिमको न्युनीकरण, दैनिक, मासिक र वार्षिकरुपमा परीक्षण गरिनु पर्ने विधिलाई प्रयोगात्मक तथा फिल्ड भिजिटको माध्यमबाट ज्ञान प्रदान गरिएको थियो । कर्मचारी केदार धमलाको सञ्चालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त अवसरमा नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख कमल थापाले रचनात्मक तालिमले कर्मचारीको क्षमता बृद्धि विकास भएको बताए । थापाले तालिम फलदायी भएको अनुभव सुनाएका थिए ।
खानेपानी संस्थानको आयोजनामा भक्तपुर नगरकोटमा आवासीय सुविधा सहितको राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्रको सभाहलमा गत १७ गतेदेखि सुरु भएको तालिममा संस्थानका विभिन्न २२ वटा शाखाबाट पानी गुणस्तर परीक्षणमा हुनु पर्ने नीति, नियम, ऐन, कानुन तथा मापदण्ड लगायत विषयमा चर्चा भएको थियो । तालिममा खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका शाखा प्रमुख र्इं.पूर्णप्रसाद उपाध्याय, वासका निरव वैध्य लगायतले आधुनिकतामा पानीको गुणस्तरलाई हेर्नु पर्ने विधि र पद्धति बारेमा ज्ञान दिएका थिए ।
तालिमलाई थप व्यवस्थित, गुणस्तर र प्रभावकारी बनाउन खानेपानी संस्थानका ईं.निरण मर्हजन, सिनियर केमिष्ट अनुराधा ज्ञवाली, केमिष्ट दिपकनाथ योगी, वाटर क्वालिटी एसोसिएटका सुशिल बन्जाडे लगायतले तालिम प्रदान गर्दै सहजीकरण गरेको सहायक प्रशासन अधिकृत दिपेश्वर मण्डलले जानकारी दिएका थिए ।
तालिममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुरुप प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई सुन्दरीजल पानी परीक्षण केन्द्र र केयुकेल अन्तर्गतको महांकालचौर पानी ल्यावमा फिल्ड भिजिट गराईएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







