प्रधानमन्त्री प्रचण्डलाई राप्रपा र जसपा र जनमत पार्टीले विश्वासको मत नदिने


     एभरेस्ट आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित




असार २७ काठमाण्डौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद छन् ।

जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गनेृ समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भने ।

उनले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको बताए ।


राप्रपा र जसपाले पनि विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सो पार्टीको आज भएको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सो पार्टीको आजको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ “प्रधानमन्त्री प्रचण्डबाट संविधानका धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।