साउन ५ पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन् । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिए ।
‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उनले भने ।
उनले युवाहरूलाई काम गरेर श्रममा बाँच्दै आफ्नो पौरखमा अगाडि बढ्न आग्रह गरे । युवा संघ कास्कीले बाढी पहिरो लगायतका विपद्मा परेका जनताको उद्धारमा सक्रिय सहभागिता जनाएर नमुना काम गरेको उनले बताए । अबका दिनमा अझ सुदृढ एकतावद्ध बनेर आलोचना गर्नेलाई कामबाट जवाफ दिन उनले जोड दिए ।
अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपद्मा परि कास्की सहित लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा सहितका गण्डकी प्रदेशका जिल्लामा ठुलो जनधनको क्षति भएकोमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले चिन्ता व्यक्त गरे । पहिरोमा परेर निधन भएकाको परिवारलाई आवश्यक राहत र व्यवस्थापन काम भइरहेको उनको भनार्ई थियो ।
‘तपाईहरूको सहयोगमा प्रशासनलाई चुस्त दुरुस्त बनाएर पीडित परिवारलाई राहत दिने काममा हाम्रो नेतृत्वमा काम गरेका छौं, पीडित परिवारलाई भेट गरिरहेको छुँ’ उनले भने ।
युवा संघका संस्थापक अध्यक्ष समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले देश अगाडि बढिरहेको भन्दै विकास निर्माण र विचार मार्फत राष्ट्रिय स्वाधीनताको झण्डा माथि उठाउन ओली सफल हुने दावी अधिकारीको थियो । ओली नेतृत्वको सरकारले देशमा रहेको गरिबी, अभाव, बेरोजगारी लगायतका समस्या समाधान गर्दै विकासको गतिमा देशलाई अगाडि बढाउने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज विक्रम गुरुङ, कास्की सचिव उमेश गुरुङ लगायतले बोलेका थिए । पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा साउन ६ गते बिहान ७ बजे जिरो किमी देखि पुष्पलाल पार्कसम्म सरसफाई कार्यक्रम तथा साउन ७ गते साईमन पार्टी प्लालेस सिर्जनाचोकमा बिहान ११ बजे ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमानको कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना हुने एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







