मनसुन फोटो वाक गर्दै कास्कीका फोटो पत्रकारहरु पुगे ढिकीडाँडामा


     कविता घर्तीमगर    
     श्रावण ५ गते २०८१ मा प्रकाशित




पोखरा । भनिन्छ, हजार शव्दहरुको अर्थ पढ्न एउटै तस्विर हेरे पुग्छ । पर्यटकीय राजधानी पोखराका जुनसुकै स्थान पनि आकर्षक र रमणीय छन् । यीनै पर्यटकीय स्थानहरुलाई क्यामेरामा कैद गरेर प्रचार प्रसार गरि पर्यटन प्रवद्धन गर्नमा पोखराका फोटो पत्रकारहरुको योगदान अतुलनिय छ । यहि सन्दर्भमा नेपाल फोटो पत्रकार संघ कास्कीले मनसुन फोटो वाक २०२४ गरेको छ ।

पत्रकारहरु शनिबार पोखरा १६ अमला बिसौनीदेखि फोटो खिच्दै पैदल हिडेर ढिकीडाँडासम्मको करिब ६ किलोमिटरको दुरी पार गरेका हुन् । उनीहरुले लामाचौर, बाटुलेचौर, हेमजा, पुरुन्चौर, मठ मन्दिर, घार्मी गाउँ, पोखरा उपत्यकालगायतको दृश्य आफ्नो क्यामेरामा कैद गरेका थिए । योसँगै गाउँले जीवन, चराचुरुंगीलगायतको फोटो खिच्दै डाँडामा पुगेर औपचारिक कार्यक्रम भएको थियो ।

पछिल्लो समय पोखरा १६ ढिकीडाँडा पर्यटक रोजाईमा पर्दै आएको छ । सोही स्थानमा संघले औपचारिक कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा उक्त वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पोखराको मुख्य बजारदेखि नजिक रहेको उक्त डाँडाबाट मौसम खुल्दा हिमशृखंला, पोखरा बजारसहितको दृश्य अवलोकन गर्न पाइने भएकाले ढिकीडाँडा पर्यटकको रोजाईमा परेको बताए । यस क्षेत्रको प्रचारप्रसारका लागि फोटो पत्रकारले कैद गरेका तस्बिरहरुले अझ महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

ढिकीडाँडासँगै पोखरामा १६ मा उजागर र प्रवद्र्धन गर्नुपर्ने धेरै पर्यटकीय क्षेत्र रहेको उनले बताए । यसका लागि आगामी दिनमा फोटो पत्रकारसँग सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । पछिल्लो समय सोही डाँडामा ढिकीडाँडा रिसोर्ट सञ्चालनमा आएकाले पर्यटकको आगमन बढिरहेको उनको भनाइ थियो ।

ढिकीडाँडा रिसोर्टका निर्देशक प्रेम आचार्यले ढिकीडाँडा क्षेत्रमा उत्साहजनक रुपमा आन्तरिक पर्यटकहरूको आगमन बढेको बताए । रिसोर्टमा अग्र्यानिक खाना समेत उपलब्ध हुने हुँदा उक्त क्षेत्रमा पर्यटक आकर्षण बढिरहेको उनले सुनाए । रातको समयमा ५० जना पर्यटक राख्ने क्षमता भएको रिसोर्टमा दिनमा खाजा तथा खानाका लागि २ सय भन्दा बढी पाहुनालाई सेवा दिन सकिने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र निवर्तमान अध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठले समाचारमा फोटोको महत्वका बारेमा चर्चा गरेका थिए । फोटो पत्रकारहरुले निकै जोखिम मोलेर खिचेका तस्बिरको माध्यमबाट समाज परिवर्तनमा ठूलो योगदान दिएकोमा प्रशंसा गरेका थिए ।

संस्थाका सल्लाहकार राम गुरुङले सहभागीहरुलाई फोटोग्राफीको महत्वका बारेमा जानकारी गराएका थिए । उनले फोटोग्राफी र फोटो पत्रकारिताको फरकका बारेमा चर्चा गरेका थिए । गुरुङले फोटो पत्रकारले बस्तुको चलायमान तस्बिर खिच्न सक्नुपर्ने बताए । ‘हामीले फोटो चिन्न सक्नुपर्छ । कति बेला के हुन्छ अब्जेक्टको मुभमेन्ट क्याप्चर गर्नसक्नुपर्छ,’ उनले भने । फोटो वाकमा खिचिएका फोटोहरुलाई प्रदर्शनीमा राखेर पुरस्कृत गरिने उनले बताए ।

संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले आगामी दिनमा अझ राम्रो र व्यवस्थित तरिकाबाट फोटो यात्रा गरिने जानकारी दिए । मनसुन फोटो वाक २०२४ नाम दिइएको कार्यक्रमको संयोजन सदस्य योगेन्द्र श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।