ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता : मन्त्री थापा


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी हुनेमा उनी विश्वस्त छन् । गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध गराएको जानकारी समेत मन्त्री थापाले दिएका छन् । ज्येष्ठ नागरिक समाजको ऐना भएको उल्लेख गर्दै उनीहरुको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको भनाई उनको छ । प्रदेश सरकार पनि ज्येष्ठ नागरिक मैत्री कानून निर्माणमा सचेत भएको उनले उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेले कार्यालयमा ज्येष्ठ नागरिकको भीड देखेर उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सहायता केन्द्रको स्थापना गरिएको बताए । खासगरी राष्ट्रिय परिचय लिन आएका ज्येष्ठ नागरिकको भीड हुन थालेपछि कार्यालयले विश्राम कक्षको व्यवस्था गरेको हो ।

प्रशासन कार्यालयले सेवाग्राहीलाई विश्राम कक्षमा नै पुगेर सेवा प्रवाह गर्ने गरी काम गरिने उनले बताए । ज्येष्ठ नागरिकहरुलाई लाइन लााग्ने वातावरण नबनाउन तर्फ सचेत भएको भनाई उनको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।