द्वन्द्वकालको प्रेम कथामा आधारित सिनेमा “खुश्मा”


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८१ मा प्रकाशित




पोखरा । प्रदर्शनको संघारमा रहेको फिल्म ‘खुश्मा’ युनिट यतिबेला प्रचारप्रसारको दौडधुपमा छ । असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘खुश्मा’ का निर्देशक र कलाकारको टोली सोमबार पोखरा आएर फिल्म हेर्ने निम्तो बाँडेका छन् ।

माओवादी आधारभूमी रुकुमको मगर सुमदायको कथालाई उतारेर बनाइएको फिल्म संविधान दिवसको अवसर पारेर प्रर्दशन हुन लागेको हो । उपसना सिंह ठकुरी र धिरज मगर मुख्य भूमिकामा रहेको फिल्म निर्माणमा कुनै कसुर बाँकी नराखेकाले दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

फिल्मका निर्देशक अशोक थापा मगर भन्छन्, ‘फिल्म मेकिङमा हामीले सक्दो मेहनत गरेका छौं। दर्शकले पक्कै मन पराउनुहुनेछ।’ डकुमेन्ट्री निर्माण गरिरहेका निर्देशक थापाको यो पहिलो फिचर फिल्म हो ।

फिल्ममा द्वन्द्वकालको बेलाको प्रेम कथा प्रस्तुत गरेको उनको भनाइ छ। ‘द्वन्द्वकालको प्रेमकथा पस्कदैछौं। राम्रो फिल्म बनेको छ। सबैको चिजको मिश्रण गरेका छौं’, उनले सुनाए । व्यवसायिकसँगै नेपाली फिल्म उद्योगलाई उकास्न फिल्म बनाएको निर्देशक थापाले बताए । दर्शकले फिल्म मन पराएर अर्को बनाउन हौसला थप्नेमा उनी विश्वस्त सुनिन्छन् ।

मुख्य भूमिकामा रहेका उपसना र धिरजले फरक चरित्रमा प्रस्तुत भएको बताए । साधारण प्रेमकथालाई उत्कृष्ट ढंगले देखाइएको उनीहरुको भनाइ थिए ।

पुन मगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको हो। रुकुमकै तकसेरा, माथिल्लो मनाङ, पोखरा र काठमाडौंमा झन्डै ४५ दिन लगाएर फिल्म खिचिएको छ। फिल्ममा तीन करोड बढी लगानी भएको निर्माण टिमको दाबी छ ।

फिल्ममा धिरज, उपसनासँगै, माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, लगायतका कलाकारले अभिनय गरेका छन् ।

एम मिडिया प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्मको लेखन निर्देशक थापाको रहेको छ । चन्द्रबहादुर भट्टचन, बेतान मगर र विरबहादुर लामा फिल्मको निर्माता रहेका छन् । मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सहनिर्माता, मोहन राई कार्यकारी निर्माता हुन् ।

फिल्म दिपक बज्राचार्यले खिचेका छन्। एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।

फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ । यसअघि नै सार्वजनिक गीत ‘खुशीका फूलहरु’ टिकटकमा निकै रुचाइएको थियो । चार हप्ता पहिलो टिजर सार्वजनिक फिल्मको ट्रेलर यो हप्ताभित्र ल्याउने तयारी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।