भदौ २८ ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्रात्मक व्यवस्थानुसार कानुनमा पनि समयसापेक्ष विकास हुन आवश्यक रहेको बताएका छन् । उनले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन कानुनकै भरमा काम गर्नुपर्दा सदमस्या भइरहेको धारणा राखे ।
आज आयोजित सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को १८औँ साधारणसभा तथा आठौँं अधिवेशनको उद्घाटन समारोहमा उनले अहिले पनि विसं २०१३, २०१९ सालको सञ्चरसम्बन्धी कानुनकै भरमा काम गर्नुपर्ने अवस्था रहेको र एक वर्षभित्र त्यसलाई प्रतिस्थापन गरी समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरे । “यसवर्ष सञ्चार क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न लाग्नेछु । गणतन्त्रसम्म आइपुग्दा पनि सञ्चारसम्बन्धी पुरानै कानुन हुँदा प्रभावकारी काम हुन सकेको छैन । प्रेस स्वतन्त्रता मर्मअनुसार इमानदारीपूर्वक समस्या समाधानमा लाग्नेछु”, उनले भने ।
मन्त्री गुरुङले हरेक क्षेत्रमा हचुवाको भरमा लगानी गर्दा धेरै चुनौती धेरै सामना गर्नुपरेकाले अब त्यही समस्या सामुदायिक रेडियोले पनि सामना गर्नु परिरहेको धारणा राखे । “विगतमा अध्ययन अनुसन्धान नगरी धेरै सामुदायिक रेडियो खोल्दा अहिले बढी चुनौती देखापरेको छ । अब एक वर्षभित्र धेरै कानुन बन्छन्, आमसञ्चार विधेयकको मस्यौदा तयार गरिसकेका छौँ, अरू कानुनको मस्यौदा तयार हुँदैछन्, केही मन्त्रिपरिषद्मा जाँदैछन् । साइवर सुरक्षा अहिलेको ठूलो चुनौती हो, त्यस विषयमा पनि कानुन बन्दैछ । सामुदायिक रेडियोको पनि समस्या समाधान गर्छाैं” मन्त्री गुरुङले भने ।
नेपाली कांग्रेस सूचना तथा प्रचारप्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले प्रेसविना लोकतन्त्रको संरक्षण नहुने भन्नुहुँदै प्रेसलाई बलियो बनाउने गरी लाग्नुपर्नेमा जोड दिए । “प्रेसलाई झञ्झटिलो माध्यमबाट हिँडाएर न लोकतन्त्र बच्छ, न वाक स्वतन्त्रता । त्यसैले यस विषयमा गम्भीर भएर लाग्नुपर्छ”, उनले भने,“स्थानीय प्रदेश र सङ्घको छुट्टाछुट्टै कानुन हुँदा प्रेसलाई समस्या भएकाले एउटै कानुनले एकद्वार प्रणालीमार्फत काम गर्ने गरी आवश्यक समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”
विश्वकर्माले सामुदायिक रेडियोलाई राज्यले फरक ढङ्गले संरक्षण गर्दै सञ्चार क्षेत्रमा भएका विकृति, विसङ्गति र चुनौतीलाई समाधान गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका…







