पोखरा उद्योग वाणिज्य महासंघको अध्यक्षमा कार्की र पोखरेल आमनेसामने, कसले मार्ला बाजी ?


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ २८

पोखरा उद्योग वाणिज्य महासंघको ३५ औं महाधिवेशन शुरु भएको छ । महाधिवेशनको शुक्रबार पोखरा महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यले उद्घाटन गरेका हुन् । संघको नया नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । शनिबार विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेल भिड्दैछन् । संघको आगामी नेतृत्वका लागि कार्की र पोखरेल आमनेसामने भएका हुन् । कार्की वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । उनी कार्यकारिणी सदस्य, उद्योग उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहुँदै अध्यक्षका उम्मेदवार बनेका हुन् ।

पोखरेल भने अघिल्लो कार्यकालमा अध्यक्षका प्रत्यासी थिए । सदस्य, उपमहासचिव र महासचिव भएपछि अघिल्लो कार्यकालमा सिधै अध्यक्षमा लडेका उनी पराजित भएका थिए । तिनै पोखरेल दोश्रो पटक अध्यक्षमा चुनाव लड्दैछन् ।

शुरुमा कमजोर देखिएका पोखरेल अहिले भने बलियो उम्मेदवारका रुपमा खडा भएका छन् । वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका कार्कीले कार्यसमितिका सबैलाई समेटेर प्यानल बनाउने तयारी गरेका थिए । जस अनुसार कार्यसमितिका प्रायः सबै तयारपनि थिए । तर अन्तिम समयमा बरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उत्तममान बुद्धाचार्य र महासचिव बलराम आचार्यले दाबी नछाडेपछि सो समूह तितरबितर भयो । जसको फाईदा उठाउँदै पोखरेलले प्यानल खडा गरेका हुन् । पोखरेलले बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य र वाणिज्य उपाध्यक्षमा बलराम आचार्यलाई मनाउँदै प्यानल बनाएका हुन् । त्यसपछि कार्कीले प्यानल बनाउन सकेनन् । जसका कारण उनी कमजोर बनेको विश्लेषण गरिदै आएको छ ।

कार्कीले प्यानल नबनाएपछि बरिष्ठ उपाध्यक्षमा बुद्धाचार्य, महासचिवमा आचार्यमात्र होईन पोखरेल प्यानलका उद्योग उपाध्यक्षमा दीनेशचन्द्र, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका छन् ।

संघको कोषाध्यक्षमा भने बालकृष्ण कोईराला र सुदीपमान प्रधानाङ्ग चुनावी मैदानमा छन् । कोईराला पोखरेल प्यानलका हुन् भने प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यद्वपी उनलाई अध्यक्षका उम्मेदवार कार्कीको समर्थन छ ।

संघको खुल्ला १० सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमा पोखरेल प्यानलबाट सौगात थापा, जीवनप्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), प्रेमप्रसाद सुवेदी, यादवप्रसाद पोखरेल, लेखनाथ सुवेदी, दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, भीम गौतम, ललितबहादुर कुँवर उम्मेदवार छन् । त्यसबाहेक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), प्रदीप राजभण्डारी, बिनोद केसी चुनावी मैदानमा छन् ।

अध्यक्षका प्रत्यासी कार्कीले आफू स्वाभाविक उम्मेदवार भएको बताउँदै आएका छन् । त्यसैले आफूलाई मतदाताले जिताउने उनको दाबी छ । ‘म स्वाभाविक उम्मेदवार हुँ । बिचमा कोहि आउँदैमा मतदाताले पत्याउँदैनन् । त्यसैले जित्नेमा म ढुक्क छु’–उनले भने ।

पोखरेल भने आफूसँग बलियो टिम भएको बताउँछन् । ‘बलियो टिम नै मेरो जितको आधार हो’–उनले भने । आफूसँग अग्रजदेखि अनुजसम्मको तीन पुस्ते नेतृत्वको समावेशीकरण गरिएकाले मतदाताले विश्वास गर्ने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।