ऐतिहासिक पदक बिजेता पलेशालाई पोखरामा सम्मान

- पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित




भदौ ३० पोखरा । पेरिस पारा ओलम्पिक तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ ।

गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो ।

ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

त्यसै गरी कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सय सहित पलेशालाई सम्मान गर्यो । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ तथा नेपाल तेक्वान्दो संघलाई प्रशंसा पत्रसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ लगायतले सम्मान गरेका थिए ।

सम्मानपछि बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे ।

उनले खेलाडीले राष्टको नामलाई अग्रस्थानमा राख्न अहम भुमिका खेल्ने गरेको जनाउँदै यसमा कुनै पनि राजनीतिक पार्टी, धर्मसंस्कृति, जातजातिको भन्ने नभई सबैको साझा खेलाडी हुने बताए ।

खेलकुदका लागि पलेशा प्रेरणाको स्रोत भएको बताउनुहुदै गण्डकी प्रदेश सरकारले खेलकुदको विकास र खेलाडीहरुको हितका लागि विभिन्न योजनाहरु अघि सारेको मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सरकारको तर्फबाट पलेशा सहितको टिमलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको जनाउँदै पोखरा पछिल्लो समय खेलकुदकोे हव बन्दै गएको बताए । उनले खेलकुदको विकासलाई पर्यटन प्रवर्द्धनको रुपमा समेत विकास गर्न सके पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदको हव बनाउन सकिने बताए ।

त्यसै गरी पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको बताउँदै यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताए । उनले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा पलेशाको सफलता महत्त्वपूर्ण हुने उल्लेख गरे ।

सम्मानित पलेशाले कुनै क्षेत्रमा असफलता निराश नभई निरन्तर लागेमा सफलता प्राप्त हुने बताइन् । उनले खेलको माध्यमबाट नेपाललाई चिनाउन पाउनु गर्विलो क्षण भएको बताइन् ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाश शम्सेर राणा, गण्डकी प्रदेशका उपाध्यक्ष लक्ष्मी पाण्ड, महासचिव रमेश पौडेल लगायतले खेल र खेलाडीको बारेमा आफ्ना भनाई राखेका थिए ।

कार्यक्रमको संचालन कास्की जिल्ला तेक्वान्दो संघका सचिव दिपेन्द्र पहारीले गरेका थिए ।

नेपाललाई पारालिक्समा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्द्धनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको स्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकि थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।