गण्डकीकी संस्थापक प्रेस रजिस्टार भण्डारीले सम्हालिन् कार्यभार


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ ३१

गण्डकी प्रदेशकी संस्थापक प्रेस रजिष्टार बिमला भण्डारीले सपथ लिएकी छिन् । गण्डकी प्रदेशमा आमसञ्चार ऐन आएपछि पहिलो प्रेस रजिष्टार बनेकी भण्डारीले सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सपथ खाएकी हुन् । सपथग्रहण लगत्तै उनले कार्यभार सम्हालेकी छिन् । यससँगै गण्डकीमा प्रेस रजिस्टारको कार्यालयले औपचारिक रुपमा काम थालेको छ । प्रेस रजिष्टार नियुक्त गर्ने र सो को कार्यालय स्थापना गर्ने गण्डकी प्रदेश दोश्रो प्रदेश बनेको छ । यसअघि वागमती प्रदेशले मात्रै प्रेस रजिष्टार नियुक्त गरेको थियो ।

प्रेस रजिष्टारले कार्यभार सम्हालेसँगै अब सञ्चारमाध्यम तथा त्यससँग सम्बन्धित कामहरु यहिंबाट हुने बाटो खुलेको छ । यसअघि प्रेस रजिष्टारको कार्यालय तथा प्रेस रजिष्टार नहुँदा सञ्चारमाध्यमसँग सम्बन्धित साना साना कामका लागिपनि राजधानी काठमाडौं जानुपर्ने बाध्यता रहँदै आएको थियो । अब भने सो बाध्यता हट्ने अपेक्षा गरिएको छ । आमसञ्चार ऐनमा प्रेस रजिष्टारले प्रदेशका आमसंचार माध्यमको नियमन गर्ने, सञ्चार माध्यमको दर्ता, नविकरण, सञ्चार मन्त्रालयमा सञ्चार माध्यमको वार्षिक विकास कार्ययोजना पेश गर्ने, सञ्चार माध्यमको वर्गिकरण, सञ्चार माध्यमलाई सुविधाका लागि सिफारिस गर्ने उल्लेख छ ।

यसअघि गण्डकी प्रदेश सरकारले भण्डारीलाई प्रेस रजिष्टारमा नियुक्त गरेको थियो । प्रेस रजिष्टारका लागि आह्वान गरेको समयसीमा भित्र ५ जनाको उम्मेदवारी परेपनि आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङको संयोजकत्वमा बनेको छनोट समितिले लिखित प्रस्तावना र अन्तर्वार्ताको माध्यमबाट ३ जनाको नाम सिफारिस गरेको थियो । सो ३ जनामध्ये भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले रजिष्टार नियुक्त गर्ने निर्णय गरेको थियो ।

कार्यभार सम्हालेपछि रजिष्टार भण्डारीले सानातिना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता हटाउन पहल गर्ने बताईन् । उनले आफूले श्रमजिवी पत्रकारको हक, हित संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आचारसंहिता पालना गर्ने वातावरण निर्माण गर्ने बताईन् । उनले भनिन्,‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको वातावरण बनाउँदै आचारसंहिता पालनाका लागि जोड दिनेछु ।’

नवनियुक्त प्रेस रजिष्टार भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् । रजिष्टारमा नियुक्त भएपछि उनले अहिले कार्यवाहक दिएर बसेकी छिन् । पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामा शुरु गरेकी भण्डारी महिलाले मात्र सञ्चालन गरेको रेडियो जननीका संस्थापक स्टेशन म्यानेजर तथा न्युनतम पारिश्रमिक निर्धारण समितिकी पूर्व सदस्य हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।