तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात


     एभरेस्ट आवाज    
     असाेज १ गते २०८१ मा प्रकाशित




कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका शाखा प्रबन्धक दिनेश शर्माले अनुसार माग भएबमोजिम मल आपूर्ति हुनुका साथै ठेकेदारले समयमा ढुवानी गरेकाले मलखाद पर्याप्त रहेको बताए । उनले भने, “यस वर्ष रासायनिक मल अभाव छैन । मागअनुसार मल आपूर्ति भइरहेको छ । कृषकले समस्या झेल्नुपरेको छैन ।” युरिया, डिएपी, पोटास र कृषि चुन पर्याप्तमात्रामा गोदाममा रहेको उनले जानकारी दिए ।

युरिया, डिएपी, पोटास र कृषि चुन गरी कूल तीन सय ६० मेट्रिकटन रासायनिक मल गत साउन र भदौमा बिक्रीवितरण गरिएको शाखा प्रबन्धक शर्माले बताए । उनका अनुसार युरिया तीन सय २४, डिएपी दुई सय ४८, पोटास १५ र कृषि चुन छ मेट्रिकटन मल गोदाममा मौज्दात छ ।

“चालु आर्थिक वर्षको साउन र भदौसम्म युरिया दुई सय ७०, डिएपी ३१, पोटास सात र कृषि चुन १५ मेट्रिकटन बिक्री भइसकेको छ”, शर्माले भने । कम्पनीको प्रदेश कार्यालय वीरगञ्जबाट रासायनिक मल आपूर्ति हुँदै आएको उनले बताए ।

युरिया प्रतिबोरा रु आठ सय ८१ दशमलव ५० पैसा, डिएपी रु दुई हजार तीन सय ३१ दशमलव ५० पैसा, पोटास एक हजार सात सय ३१ दशमलव ५० पैसा र कृषि चुन चार सयका दरले बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।

युरिया प्रतिकेजी १७ रुपैयाँ ६३ पैसा, डिएपी प्रतिकेजी ४६ रुपैया ६३ पैसा, पोटास प्रतिकेजी ३४ रुपैया ६३ र कृषि चुन सात रुपैयाँ ६० पैसामा मल बिक्री हुँदै आएको छ । गत वर्ष तनहुँमा करिब रु छ करोड बराबरको रासायनिक मल खपत भएको थियो ।

पछिल्ला वर्षमा रासायनिक मलको अभाव हुन छोडेको शर्माले बताए। मागअनुसारको मल पाएपछि किसानसमेत हर्षित छन् । व्यास नगरपालिका–५ साँगे सेराका कृषक रामलाल कुमालले यस वर्ष मागअनुसारको मल पाएको बताए । “किसानले चाहेका बेलामा पर्याप्त रासायनिक मल पाउँदा खुसी छौँ । धान रोप्ने समयमा पर्याप्त मल पायौँ । त्यसैले किसानलाई खेतीतर्फ आकर्षित गरेको छ”, उनले भने । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।