असोज १ पोखरा । गण्डकी प्रदेशको प्रादेशिक अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अबदेखि क्यान्सरको उपचार हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौता भएसँगै अब सो अस्पतालमा क्यान्सरको उपचार हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सम्झौता पत्रमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले हस्ताक्षर गरे ।
यसअघि सो अस्पतालमा क्यान्सरको उपचार सेवा थिएन । पोखरामा क्यान्सरको उपचार सेवा नहुँदा सो रोगबाट पीडितहरु चितवनको भरतपुर वा राजधानी काठमाडौं जानुपर्ने बाध्यता रहँदै आएको थियो । पोखरामै उपचार शुरु हुने भएपछिअब उपचारका लागि भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
सम्झौता अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अबदेखि प्रत्येक महिनामा कम्तिमा एक वा सो भन्दा बढीपटक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्राङ्गणबाट क्यान्सर उपचार सेवा दिनुपर्नेछ । सो सेवासँगै अन्तरङ्ग र बहिरङ्ग सेवापनि सञ्चालन गर्नुपर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले जानकारी दिए ।
सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पोखरामा क्यान्सरको उपचार सेवा सञ्चालन गर्ने सम्झौतासँगै सातै प्रदेशमा क्यान्सरको उपचार सेवा पुगेको बताए । स्वास्थ्य तथा जनसंंख्या मन्त्री पौडेलले कार्यभार सम्हालेलगत्तै गत असार ३१ गते क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सो निर्णय गरेको दुई महिना भित्रमा कार्यान्वयनमा आएको मन्त्री पौडेलले बताए । उनका अनुसार यसअघि वागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा मात्रै रहेको क्यान्सर उपचार सेवा यस दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा बिस्तार गरिएको छ ।
मन्त्री पौडेलको सचिवालयले पछिल्लो दुई महिनामा भक्तपुर क्यान्सर अस्पतालमार्फत गण्डकीको पोखरासँगै कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्नेमा जोड दिए । उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफूले कोशिष गरिरहेकोसमेत बताए ।
कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले क्यान्सरको उपचारमा अस्पतालमा उपलव्ध सेवाबारे जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







