पोखरामा एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज १ गते २०८१ मा प्रकाशित




असोज १ पोखरा । तमु धिं नेपाल केन्द्रीय युवा समितिको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित एक महिने छ्याडु प्रशिक्षण समापन भएको छ ।

गत भदौ ३ गतेदेखि शुरु भएको छ्याँडु प्रशिक्षण मंगलबार समापन गरिएको हो । समापन कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सबै जातजातिको कला, साहित्य र संस्कृति जगेर्नाका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताए । मन्त्री थापाले गुरुङ समुदायका युवाहरु संस्कृति संरक्षणमा लागेकोमा खुसी व्यक्त गरे । युवाहरु विदेश पलायन हुने बढ्दो क्रम बढेकाले लोपोन्मुख संस्कृति संरक्षणको चुनौति रहेको उनको भनाइ थियो ।

समापन कार्यक्रममा तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति गोरे गुरुङ, मिलन ग्रुप अफ नेपालको संस्थापक संयोजक मिलन फाउन्डेसन नेपालको परिकल्पनाकार तथा संस्थापक संरक्षक वरिष्ठ समाजसेवी दुर्गा गुरुङ मिलन, छ्याडु गुरु प्रेमबहादुर गुरुङ, प्रशिक्षार्थी नविन गुरुङ, तालिम संयोजक रामप्रसाद गुरुङलगायतले गुरुङ संस्कृति संरक्षणमा जोड दिएका थिए । प्रशिक्षक (गुरु) हरुलाई फेटा, प्रमाणपत्र, मायाको चिनोले सम्मान गरिएको थियो ।

३६ वटा तालहरु भएको छ्याडु नृत्य विशेष गरि तमु समुदायको पितृकार्य पय (अर्घौं) को दोस्रो दिन हृ (अस्तु) ल्याएपछि नाच्ने गरिन्छ ।

कार्यक्रममा एक महिनासम्म ३६ मध्ये प्रशिक्षणमा सिकेका १८ तालहरु बजाएर प्रशिक्षार्थीहरुले छ्याँडु नृत्य प्रदर्शन गरेका थिए ।

यस्तै गुरुङ फिल्म एसोसियशन नेपाल (जिफान) को नवनिर्वाचित टिम, हङकङबाट नेपाल आउनुभएका मिलन ग्रुप अफ नेपालको संस्थापक संयोजक मिलन फाउन्डेसन नेपालको परिकल्पनाकार तथा संस्थापक संरक्षक वरिष्ठ समाजसेवी दुर्गा गुरुङ मिलनलगायतलाई सम्मान पनि गरिएको थियो ।

सोही अवसरमा तमु धिं नेपाल केन्द्रीय युवा समितिको कार्यालयको पनि उद्घाटन गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।