रविलाई पक्राउ पुर्जी जारी भए-नभएकोबारे अदालत र प्रशासन तैचुपमैचुप


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा, पोखरा, असोज ७

सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको हल्ला छ ।

तर अदालत र प्रशासन यसबारे तैचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन । अदालत श्रोतले भन्यो,‘पक्राउ पुर्जी हिजै टाइप भएको हो । यसबारे थप प्रहरीलाई थाहा छ ।’

तर कास्की प्रहरी यसबारे अनभिज्ञता प्रकट गर्छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले रविबिरुद्ध पक्राउ पुर्जी जारी भइनसकेको बताए । उनले भने,‘रविलाई पक्राउ पुर्जी जारी भएको छैन । अहिले आएको बजार हल्ला मात्र हो ।’

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले भने रविलाई पक्राउ पुर्जी जारी भएनभएकोबारे बोल्न नमिल्ने बताए । उनले भने,‘यसबारे बोल्न मिल्दैन । हाम्रो धारणा हिजै सार्वजनिक गरिसकेका छौं ।’ कास्की प्रहरीले आईतबार साँझ छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको जनाउँदै अन्य कसैलाईपनि पक्राउ पुर्जी जारी नभएको भन्दै विज्ञप्ती जारी गरेको थियो ।

अदालतले दियो छविलाललाई हिरासतमा थप ५ दिन राखेर अनुसन्धान गर्न अनुमती
सन्देश श्रेष्ठ
पोखरा, असोज ७

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आईतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराईएको थियो । जोशीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले जानकारी दिए ।

सरकारले बनाएको सहकारी छानविन समितिले सहकारीको रकम अपचलन गरेको भन्दै सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), छविलाल जोशी, रवि लामिछानेसहितलाई कारवाही गर्न सिफारिस गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।