रविलाई पक्राउ पुर्जी जारी भएको हो ? कि बजार हल्ला मात्र ?

- अदालतले दियो छविलाललाई हिरासतमा थप ५ दिन राखेर अनुसन्धान गर्न अनुमती


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित




फाइल तस्विर

पोखरा, असोज ७

सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको देशव्यापी हल्ला छ ।

तर अदालत र प्रशासन यसबारे तैँचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन । अदालत श्रोतले भन्यो,‘पक्राउ पुर्जी हिजै टाइप भएको हो । यसबारे थप प्रहरीलाई थाहा छ ।’

तर कास्की प्रहरी यसबारे अनभिज्ञता प्रकट गर्छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले रविबिरुद्ध पक्राउ पुर्जी जारी नभएको बताए । उनले भने,‘रविलाई पक्राउ पुर्जी जारी भएको छैन । अहिले आएको बजार हल्ला मात्र हो ।’

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले भने रविलाई पक्राउ पुर्जी जारी भए÷नभएकोबारे बोल्न नमिल्ने बताए । उनले भने,‘यसबारे बोल्न मिल्दैन । हाम्रो धारणा हिजै सार्वजनिक गरिसकेका छौं ।’ कास्की प्रहरीले आईतबार साँझ छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको जनाउँदै अन्य कसैलाईपनि पक्राउ पुर्जी जारी नभएको भन्दै विज्ञप्ती जारी गरेको थियो ।

रविका कार्यकर्ता तथा शुभचिन्तकपनि रवि पक्राउ पर्नसक्ने भन्दै खबरदारी गरिरहेका छन् । उसो त आईतबार साँझ नै रविलाई पक्राउ गर्ने हल्ला चलेको थियो । अरु त अरु, स्वयम् रविलेसमेत आफूलाई पक्राउ गर्नसक्ने भन्दै कार्यकर्ताहरुलाई अलर्टमा रहन आह्वान गरेका थिए ।

पक्राउ गर्ने हल्ला चलेपछि कार्यकर्ताहरु पक्राउ नगर्न भन्दै खबरदारी गरिरहेका छन् । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि रविलाई पक्राउ नगर्न माग गर्दै प्रदर्शनसमेत भएको छ । निलो क्रान्तिको नाम दिएर आयोजित प्रदर्शनमा सहभागीहरुले रविलाई पक्राउ नगर्न खबरदारी गर्दै नाराबाजी गरे ।

सोहिबेला सहकारी पीडितहरुले भने रविलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीको रकम गोरखामा मिडियामा गएको र सो रकम रविसहितले अपचलन गरेकाले उसलाईपनि तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनीहरुले नाराबाजी गर्दै प्ले–कार्ड प्रदर्शन गरेका थिए । सो क्रममा रवि समर्थित रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमनेसामने भएका थिए । तर दुबै तर्फका प्रदर्शनकारीहरु सानो संख्यामा भएको तथा प्रहरीपनि अलर्टमा रहेकाले कुनैपनि अप्रिय घटना भने भएन ।

सूर्यदर्शन सहकारीको ५ करोड रुपैयाँ गोरखा मिडियामा गएको विशेष छानविन समितिले औंल्याएको छ । विशेष समितिले रकम अपचलनमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछाने दोषि देखिएको भन्दै उनीहरुलाई कानून अनुसार कारवाही गर्न सिफारिस गरेको छ । उनीहरुबिरुद्ध कास्की प्रहरीमा जाहेरी परेको छ । शुरुमा जिवीलगायतबिरुद्ध परेको उजुरी परेपनि पछि सहकारी पीडितहरुले रवि लामिछानेलगायतबिरुद्ध पुरक उजुरी हालेका थिए ।

विशेष समितिको सिफारिसका आधारमा कास्की प्रहरीले तत्कालीन सञ्चालक जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याई अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आईतबार काठमाडौंबाट पक्राउ गरेर सोहि दिन साँझ पोखरा ल्याइएका उनलाई सोमबार म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराईएको थियो । प्रहरीले जोशीलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न माग गरेपनि जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले जानकारी दिए ।

सरकारले बनाएको सहकारी छानविन समितिले सहकारीको रकम अपचलन गरेको भन्दै सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), छविलाल जोशी, रवि लामिछानेसहितलाई कारवाही गर्न सिफारिस गरेको छ । उनीहरुबिरुद्ध सहकारी पीडितहरुले कास्की प्रहरीमा उजुरी हालेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।