एभरेस्ट आवाज    
     असाेज १२ गते २०८१ मा प्रकाशित




लायन्स क्लब अफ पोखरा अन्नपूर्णद्वारा श्री चण्डीडाँडा माविमा खानेपानी ट्याङ्कीको उद्घाटन
पोखरा । फेदीखोला- १, मट्टीखान, स्याङ्जामा अवश्थित श्री चण्डीडाँडा मावि, लायन्स क्लब अफ पोखरा अन्नपूर्णको संयोजन र रन्निमेड कलेज यूकेको दुई लाख रुपैयाँ सहयोगमा निर्मित १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ जे नेपालको गर्भनर मिलन थापाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मिलन थापाले शुद्ध खानेपानीको प्रबन्धले विद्यालयका विद्यार्थीको स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पर्ने बताइन्। उनले ट्याङ्की निर्माणमा रन्निमेड कलेजका विद्यार्थीहरूले श्रमदान गरेको स्मरण गर्दै श्रमदानको महत्वबारे विशेष जोड दिइन्।
परियोजना निर्देशक सोनाम साङ्पोले यो ट्याङ्की ४६औँ खानेपानी परियोजना भएको जानकारी दिंदै सामुदायिक विद्यालयहरूमा शुद्ध खानेपानीको निरन्तरता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खेमराज पोख्रेलले सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुगेकोमा लायन्स क्लबलाई धन्यवाद दिए।
फेदीखोला गा।पा। वडा नं। १ का वडाध्यक्ष अमृत क्षेत्रीले स्थानीय सरकारको जिम्मेवारी पूरा गर्न लायन्स क्लबले खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै समाजसेवी अर्जुन पोख्रेललाई विशेष धन्यवाद दिए।
कार्यक्रमका अन्त्यमा अध्यक्ष गणेशलाल श्रेष्ठले विद्यालयलाई आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने सम्भावनालाई औंल्याए। कार्यक्रमको संचालन लायन्स क्लबकी तिर्थ कुमारी श्रेष्ठले गरेकी थिइन्।
यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।
सो अवसरमा परियोजना निर्देशक सोनाम साङ्पो, फेदीखोला गाउँपालिका वडा नं। १ का अध्यक्ष अमृत क्षेत्री, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य खेमराज पोख्रेल, शिक्षक अभिभावक संघ अध्यक्ष केशव सुनार, विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठ तथा शिक्षक, विद्यार्थी, अभिभावक, र लायन्स क्लबका पदाधिकारीहरू उपस्थित थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।