लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८१ मा प्रकाशित




फाइल तस्विर

असोज २० काठमाण्डौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छन् ।

ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आज मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् ।

सो बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरु र उनका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी थिइन् ।

मन्त्री डा राणाले भनिन्, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।”

मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकता अनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएका थिए ।

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए ।

त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको र उनीहरुमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए ।

हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नभएको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित भएको पनि उनले जानकारी दिए ।

इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेको बताए । सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।