हङकङमा ‘जिफाह साँझ–२’ हुने


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८१ मा प्रकाशित




असोज २३ पोखरा । गुरुङ फिल्म एशोसियसन हङकङको आयोजनामा आगामी नोभेम्वरमा जिफाह साँझ–२ हुने भएको छ ।

एशोसियसनले आगामी नोभेम्वर १७ तारिखमा हङकङको जोर्डनस्थित या उमा तेई कम्यूनिटी हलमा जिफाह साँझ–२ गर्न लागेको हङकङमा आयोजित जानकारी सभा मार्फत जनाएको छ ।

‘गुरुङ गीत, संगित र चलचित्रको माध्यमबाट हाम्रो कला र संस्कृतिलाई विश्वभरी प्रवद्र्धन गरौं’ भन्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।

साँझ ६ बजेबाट शुरु हुने कार्यक्रमका लागि करिव एक दर्जन कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा गुरुङ कला संस्कृतीको प्रर्वद्धन हुने गरि कलाकारहरुले गीत, नाटक र नृत्यसहितका प्रस्तुतीहरु पस्कने छन् । कार्यक्रमका लागि नेपालबाट गायक मनोज गुरुङ, गायिका उषा गुरुङ, चर्चित कलाकारहरु आनन्द गुरुङ, मनोज गुरुङ, अञ्जु गुरुङ, अनुसा गुरुङ, अमेरिकाबाट प्रेम, एन्सर्ज गुरुङ, अष्ट्रेलियाबाट विश्वात्म गुरुङ, कोरियोग्राफर साजन गुरुङ आउने गरि तयारी गरिएको उनको भनाई छ । उनले भनिन्, ‘कार्यक्रम विशुद्ध हाम्रो लोप हुन लागेको भाषा, संस्कृति, भेषभुषाको जगेर्ना र विश्वमा हाम्रो ‘कल्चर’ को बारेमा प्रर्वद्धन गर्न सफल हुने विश्वास छ ।’

यसअघि सन् २०१६ मा पहिलो साँझ भएपछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडका कारण नियमित सञ्चालन हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिन लागिएको संस्थाका महासचिव विश्वास गुरुङले जानकारी दिए ।

कार्यक्रमको गुरुङ फिल्म एशोसियसन नेपालका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ श्यामको प्रमुख आतिका रुपमा निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ओम गुरुङ र सञ्चालन महासचिव विश्वास गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।