रबि पक्राउ परेसँगै समर्थन र विरोधमा उत्रियो पोखरा


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित




कात्तिक ३ पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेसँगै पोखराको माहोल एकाएक तातिएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापतीलाई पोखराको सूर्यदर्शनसहित विभिन्न ६ वटा सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोपमा शुक्रबार काठकाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएसँगै पोखरामा उनको समर्थन र विरोधमा पोखरा उत्रिएको छ । रविको पक्राउको समर्थन गर्दै सहकारी पीडितहरुले थप दवाब सिर्जना गरिरहेका छन् भने रास्वपा कार्यकर्ताले रविको समर्थनमा दिनभरी नै नाराबाजी तथा कोणसभालगायतका कार्यक्रम गरे ।

काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार विहान ३ः४५ बजे पोखरास्थित जिल्ला प्रहरी कार्यालय प्रवेश गराउने क्रममा रविको पक्षमा रास्वपा कार्यकर्ताले हुटिङ गरे । उनीहरुले सरकारले प्रतिशोध साँधेको भन्दै सरकारको विरोधमासमेत नाराबाजी गरे ।

दिउँसो भने रास्वपाले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा कोणसभा गर्नुका साथै महेन्द्रपुल(भीमसेनचोक), पालिखेचोकहुँदै जिल्ला प्रहरी कार्यालय अगाडि गएर धर्ना दिदै नाराबाजीसमेत गरे । सो क्रममा उनीहरुले ‘रविदाई हाईहाई’, नडराउ रविदाई, तिम्रो साथमा हामी छौं’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, रविलाई न्याय दे’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायतका प्लेकार्ड बोक्नुका साथै नाराहरु लगाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले रविलाई अन्यायपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै विरोध जनाए । सहकारी प्रकरणमा प्रत्यक्ष मुछिएका प्रतिवादीहरुलाई नसमातेर सरकारले संसदीय छानविन समितिले क्लिन चिट दिएको रविलाई समातेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए । उनले भने,‘सहकारी ठगीमा प्रत्यक्ष जोडिएकालाई समाउन हतार छैन, पीडित बचतकर्तालाई बचत रकम फिर्ता गर्न सक्दैन, तर संसदीय छानविन समितिले दोषी नदेखेर क्लिनचिट दिएको व्यक्तिलाई समातेर हतकडी लगाउँछ यो सरकार ।’

रास्वपा उप–सभापती स्वर्णिम वाग्लेले ओली सरकारको कुशासन, भ्रष्टाचार र अक्षमता लुकाउन रविलाई समातेको आरोप लगाए । रविको सेखी झार्न र नया पार्टी रास्वपालाई सक्ने उद्देश्यले ओली सरकारले रविलाई समातेको भन्दै उनले भने,‘देश बाढी पीडितको चपेटामा छ, पीडितले खान, लाउन पाएको छैन । नालायक सरकार निरीह बनेर रमिते भएको छ । अनि एउटा व्यक्तिलाई फसाउन सरकारसहित पूरै राज्य संयन्त्र परिचालित गरिएको छ ।’ संसदीय छानविन समितिले क्लिन चिट दिएको रविलाई समात्ने सरकारले कांग्रेस सांसद धनराज गुरुङ, एमाले नेता ऋषिकेश पोखरेललगायतले भने कहिले समात्छ भनेर प्रश्नसमेत गरे ।

रास्वपा सांसद तोषिमा कार्कीले वर्तमान सरकारलाई विचौलियाको सरकार भएको टिप्पणी गरिन् । वर्तमान सरकारलाई नालायक सरकारको संज्ञा दिदै उनले भनिन्,‘सरकारको ध्यान बाढी पीडितलाई राहत उपलब्ध गराउनेमा छ कि व्यक्ति फसाउनेमा ? सुशासन र समृद्धिमा छ कि कुशासन र निर्दोष मान्छे फसाउनेमा ? ।’ सरकारले फसाउन खोजेपनि न्यायलयप्रति आशा र भरोसा रहेको भन्दै उनले भने,‘सरकार बिचौलियाले चलाएपनि न्यायलय नचलाओस् । निदोष रविलाई न्याय देओस् ।’

रास्वपा गण्डकी प्रदेश प्रमुख राजन गौतमले २०८४ को चुनावमा ठूला पार्टीहरु पत्तासाफ हुने डरले रविलाई फसाउनका लागि पक्राउ गरिएको बताए । रविलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनले भने,‘रविमाथि अन्याय भएको छ । अन्यायविरुद्ध सम्पूर्ण नेपाली लडौं ।’

रविलाई पक्राउ गरेर ल्याएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी तैनाथ राखिएको छ भने कार्यक्रम स्थल र जिप्रका अगाडि बाक्लो मात्रामा प्रहरी खटाइएको छ । सँधै निर्वाध रुपमा प्रवेश गर्न पाईने जिल्ला प्रहरी कार्यालयमा आकस्मिकबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।

उसो त सहकारी पीडितहरुलेपनि शुक्रबार प्रदर्शन गर्ने तयारी गरेका थिए । रविलाई पक्राउ गरेको समर्थन गर्दै आफ्नो अपचलन भएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्ने तयारी गरिएपनि प्रशासनको आग्रहमा स्थगित गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आफूहरुलाई तत्काल कुनैपनि कार्यक्रम नराख्न आग्रह गरेकाले कार्यक्रम स्थगित गरिएको सहकारी पीडित संघर्ष समितिका सह–संयोजक सूर्य पोखरेलले जानकारी दिए । सिडिओको भनाई उद्धृत गर्दै उनले भने,‘हामी तपाईं पीडितहरुको पक्षमै छौं, तपाईंहरुले विथोलिनेगरी कार्यक्रम र प्रदर्शन नगरिदिनूस् ।’ सो आग्रहपछि आफूहरुले केहि दिनका लागि पर्ख र हेरको अवस्थामा बस्ने निर्णय गरेको उनले बताए । ‘अनुसन्धान कसरी अगाडि बढ्छ, त्यहि अनुसार हामी अगाडि बढ्छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।