पोखराको शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित




पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । कास्की प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदि हुने भएका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सार्थै निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्ति भेला जम्मा भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिद चोक र गैह्रापाटन क्षेत्रको चार किल्ला भित्रको क्षेत्रमा लागू हुन गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६को उपदफा (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।