पोखरा, कात्तिक ४
न्याय भीडले होईन अदालतले दिन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेको मुद्धामा न्याय अदालतले होईन, भीडबाट प्रभावित पार्न उनका समर्थकहरु उद्यत देखिएका छन् । त्यसको ज्वलन्त उदाहरण पोखरामा भइरहेको छ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि शुक्रबार झिसमिसे विहान पोखरा ल्याइएको थियो । सहकारी पीडितहरुको पुरक जाहेरीका आधारमा पक्राउ परेका उनलाई पक्राउ गरेर अनुसन्धान गर्नु प्रहरीको कर्तव्य हो । अनुसन्धान सकिएपछि अदालतमा मुद्र्धा चल्नु स्वाभाविक प्रक्रिया हो । रवि दोषी हुन् वा निर्दोष ? यसको निरुपण अदालतले गर्छ । त्यसैले प्रहरीलाई निस्पक्ष अनुसन्धान गर्न र अदालतलाई मुद्धा प्रक्रिया सघाउनु वादी र प्रतिवादी दुबैको कर्तव्य हो ।
तर रविका समर्थकहरु अनुसन्धान र अदालती प्रक्रियामा सघाउनुको सट्टा भीडबाट न्याय प्रभावित पार्न उद्यत छन् । पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई अनुसन्धानका लागि पोखरा ल्याएदेखि नै रास्वपाका कार्यकर्ताहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् । उनीहरु भीड देखाएर न्याय प्रभावित गर्ने प्रयासमा छन् । जान्नेलाई छान्ने र पुराना मान्छे र पुरानो तरिकाले हुँदैन भनेर रातदिन फलाक्ने उनीहरु अहिले भीड जम्मा गरेर न्याय प्रभावित गर्ने उहि पुरानै दलहरुको शैलीलाई निरन्तरता दिइरहेका छन् । जसको फलस्वरुप आईतबार उनीहरुले प्रशासनले लगाएको निशेधाज्ञा तोडेर प्रदर्शन गर्दा प्रहरीसँग ठेलाठेलको स्थिति बन्दा पोखरा तनावग्रस्त बन्यो । प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहरा र अश्रु ग्यास नै प्रहार गर्नु प¥यो ।
उसो त सहकारी पीडितहरुले पनि भीडबाटै न्याय मिल्छ झैं गरेर प्रदर्शन शुरु गरेका छन् । रविलाई पक्राउप्रति स्वागत गरेका उनीहरुले प्रशासनको आग्रहलाई स्वीकार गरेर प्रदर्शन नगर्ने भनेका थिए । तर त्यो निर्णय एक दिनपनि टिकेन । आईतबार विहान भने उनीहरु प्रदर्शनमा उत्रिने निर्णयमा पुगे । रास्वपा र सहकारी पीडितको प्रदर्शन स्थल एकै ठाउँ सहिदचोकहुँदा आईतबार केहिबेर दुईपक्षबीच झडप हुने त्राससमेत बढेको थियो । तर प्रशासनले तत्काल निशेधाज्ञा जारी गरेपछि सहकारी पीडित आन्दोलनबाट पछि हट्यो र झडपको स्थिति ट¥यो ।
भन्न त दुबै पक्षले अदालतप्रति अगाध आस्था र विश्वास रहेको बताउने गरेका छन् । अदालतबाटै न्याय पाईन्छ भनेर उनीहरु निरन्तर भनिरहेकापनि छन् । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेले पटक÷पटक आफूलाई अदालतप्रति विश्वास रहेको बताएका छन् । आईतबार म्याद थपका लागि अदालतमा उपस्थित भएकाले यो कुरा पुनः दोहो¥याए । तर त्यसो भनेको एक मिनेटपनि नबित्दै उनले न्यायका लागि सडकमा आउन आफ्ना कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिल गरेर आफूपनि अदालतबाट होईन भीडबाटै न्याय प्रभावित गर्ने प्रयासमा रहेको पुष्टि गरे । अदालतप्रति मलाई एकदमै विश्वास छ, त्यसैले त म अनुसन्धान र अदालतलाई सघाउन आएको हुँ भनेका उनले लगत्तै बोली फेर्दै भने,‘ओली सरकार निर्दोष मान्छे फसाउन लागिपरेको छ । त्यसैले मेरो लागि होईन देश र जनताका लागि सडकमा आउन म आम पोखरेली र देशवासीमा हार्दिक अपिल गर्दछु ।’
उसो त रास्वपा उप–सभापती स्वर्णिम वाग्लेलेपनि अदालतप्रति विश्वास रहेको बताए । तर उनलेपनि प्रदर्शन रोक्न आग्रह गरेनन् । बरु उल्टै न्यायका लागि सडकमा आउन कार्यकर्तालाई अपिल गरे । उनले भने,‘यो देशमा अदालत छ, त्यसले न्याय दिन्छ भन्नेमा हामी विश्वस्त छौं तर निर्दोष फसाउने षडयन्त्रमा यो भ्रष्ट सरकार छ । त्यसैले सडकमा आएर दवाब दिऔं ।’
सहकारी पीडितहरुलेपनि अदालतले दूधको दूध पानीको पानी छुट्याएर न्याय दिने विश्वास व्यक्त गरेका छन् । रवि पक्राउले मात्रैपनि न्यायको अनुभूति भएको बताएका उनीहरुले अदालतप्रति अगाध आस्था र विश्वास रहेको बताए । तर न्यायका लागि भन्दै प्रदर्शन भने जारी राख्दै भीडबाटै न्याय मिल्छ भन्नेमा रहेको पुष्ट्याईं गरे । सूर्य दर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठले आफूहरु भीडबाट न्याय प्रभावित पार्ने पक्षमा नरहेको बताए । हामीलाई अदालतप्रति विश्वास छ,उनले भने,‘तर रविका कार्यकर्ताहरुले दिनहुँ भीड जम्मा गरेर दवाब सिर्जना गर्दा कतै न्याय प्रभावित हुने त होईन भन्ने डर हामीलाई लागेको छ । त्यसैले आफूहरुको ईच्छा विपरितपनि प्रदर्शन गर्न बाध्य भएका छौं ।’
निशेधित क्षेत्रमा प्रदर्शन जारी राखेपछि प्रहरीले हान्यो अश्रु ग्याँस र पानीको फोहरा
निशेधित क्षेत्र सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापती रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निशेधित क्षेत्र सहिदचोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस र पानीको फोहरा हानेको हो ।
रविलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिदचोकमा प्रदर्शन गरेका थिए । दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिएपनि विहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला भएर नाराबाजी शुरु गरेका थिए । अदालत, प्रशासनलगायतका सरकारी कार्यालय नजिकै प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले सहिदचोक र त्यस आसपासका क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गर्दै कफ्यू लागु ग¥यो । तर प्रदर्शनकारीले सो स्थल छाड्न मानेनन् ।
प्रहरी आह्वान र अनुरोधलाई बेवास्ता गर्दै प्रदर्शनकारीले निरन्तर नाराबाजी र प्रदर्शन जारी राखेपछि प्रहरीले हटाउन खोज्दा केहिबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीको आग्रह र सामान्य बल प्रयोगबाट नहटेपछि प्रहरीले भीड नियन्त्रणमा लिन पानीको फोहरा हान्यो । तर त्यति गर्दापनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले अश्रृ ग्याँस हानेको हो । त्यसपछि भने उनीहरु ‘रविलाई न्याय दे, निर्दोषलाई फसाउन पाईंदैन, रविदाई हाईहाई, असली सहकारी ठगलाई कारवाही गरलगायतका नारा लगाउँदै तितरबितर भएका थिए ।
सहिदचोकमा भीड बढ्नुका साथै दुई पक्षबीच धकेलाधकेलको स्थिति बनेपछि रविलाई वैकल्पिक बाटोबाट अदालत पु¥याइएको थियो ।
यसअघि कास्की प्रशासनले जिल्ला प्रशासन कार्यालय र कास्की जिल्ला अदालत रहेको सहिदचोक र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन र त्यस आसपासका क्षेत्रमा निशेधाज्ञा जारी गरेको थियो । प्रशासनले रास्वपा र सहकारी पीडितले प्रदर्शन गर्ने भनेको स्थल सहिदचोक र त्यस आसपासका क्षेत्रहरु पूर्वतर्फ वाईचोक, पश्चिमतर्फ वैदाम फिस्टेलगेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङचोक र पर्यटन वोर्डको कार्यालय रहेको ड्यामसाईडसम्मलाई निशेधित क्षेत्र तोकेको हो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटनको पालिखेचोकदेखि नवीन माविसम्मको क्षेत्रमा निशेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ । ती क्षेत्रमा ५ जना भन्दा बढी जम्मा भई भेला, जुलुस, धर्ना, घेराउ, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निशेध गरिएको जनाइएको छ ।
रविले भने ः मलाई अदालतप्रति विश्वास छ, तर केपी ओली प्रधानमन्त्री भएसम्म देशले दुःख पाउँछ
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेले आफूलाई अदालतप्रति पूर्ण रुपमा विश्वास रहेका बताएका छन् । म्याद थपका लागि अदालत लैजाने क्रममा अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले आफूलाई अदालतप्रति विश्वास रहेको बताएका हुन् । आफू अनुसन्धानलाई सघाउन आएको बताउँदै उनले भने,‘म अनुसन्धानलाई सघाउन, अदालतलाई सघाउन आएको हुँ, अदालतप्रति एकदमै विश्वास छ र अदालतले न्याय दिन्छ भन्ने विश्वास छ ।’
तर सरकारले भने झुटा मुद्धामा फसाउन खोजेको उनले गुनासो गरे । सहकारी ठग र भ्रष्टाचारीलाई संरक्षण गर्ने तर निर्दोषलाई फसाउन ओली सरकार लागेको भन्दै उनले आक्रोस पोखे । उनले भने,‘भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी पीडितहरू आफ्ना पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झुट्टा मुद्दा लगाएका छन् । । निर्दोष मान्छे फसाउने यिनीहरुको नियत नै गलत छ ।’
पूर्व गृहमन्त्रीसमेत रहेका उनले ओली सरकार रहेसम्म देशले दुःख पाउने बताए । आफूलाईजस्तै प्रधानमन्त्री ओलीमाथिपनि डेढ वर्ष अनुसन्धान गर्ने हो भने ओली भ्रष्टाचारी सावित हुने उनले दाबी गरे । देशको सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको केपी ओली हो,उनले भने,‘यस्तो मान्छे प्रधानमन्त्री हुनु देश र जनताको लागि दुर्भाग्य हो । यो सरकार रहुञ्जेल देशले दुःख पाउँछ ।’ उनले भ्रष्ट र अधिनायकवादी ओली सरकारबिरुद्ध सडकमा आउन जनतामा अपिलसमेत गरेका छन् । ‘जो जो जहाँ जहाँ हुनुहुन्छ, त्यहिँबाट विरोध गर्नूस् । मेरो लागि होईन र देश र जनताका लागि अन्तिम लडाईंका लागि सडकमा आएर विरोध गर्नूस्’–उनले भने ।
रविलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेलाई थप ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई थप६५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।
सहकारीको रकम अपचलन गरेको आरोपमा रविलाई विहीबार काठमाडौंबाट पक्राउ गरिएको थियो । सोहि साँझ काठमाडौंबाट स्थल मार्गहुँदै शुक्रबार विहान पोखरा ल्याइएका उनलाई शनिबार विदा भएकाले अदालतमा उपस्थित गराइएको थिएन । आईतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका उनको विषयमा थुनछेक बहस चलेको थियो । थुनछेक बहसपछि न्यायाधीस नवराज दाहालको एकल ईजलाशले ६ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमती दिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






