पोखरा, कात्तिक १२
पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धि अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले एमालेको फासिष्ट शासन ल्याउनका लागि सबै कसरत भइरहेको बताएका हुन् । दल विभाजन सम्बन्धि अध्यादेश किन ल्याउन लागिएको हो भन्ने कुरा र सिधा र प्रष्ट छ,उनले भने,‘त्यो अध्यादेश दुई पार्टी व्यवस्थालाई बलियो बनाउन ल्याउन लागिएको हो । तर बुझ्नुपर्ने कुरा के छ भने दुई पार्टी भनेर नेपाली कांग्रेसलाई झुक्याउँदै एमाले एक्लैको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि हो । त्यसका लागि सबै कसरत भइरहेको छ भन्नेकुरा यो नेपाली धर्तीले जति छिटो बुझ्यो त्यति राम्रो ।’
अध्यक्ष नेपालले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टी फुटाउनुतिर लाग्नु भन्दा बरु विकास र समृद्धिमा लगाउन सुझाव दिए । हाम्रो पार्टीलाई सिध्याउन खोज्नेहरुको धन्दै बेग्लै,उनले भने,‘यो पार्टीलाई कसैले सिध्याउँछु, धरासायी पार्छु, कमजोर पार्छु, भन्ने सोंचेको छ भने मनको कुण्ठाबाहेक केहिपनि हुँदैन ।’ उनले पार्टीका असन्तुष्टहरुसँग कुरा मिलिसकेको बताए । उनीहरुले पार्टीपनि नफुटाउने र अन्य दलमापनि नजाने दाबी नेपालको छ ।
अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी दुवै पार्टीसँग तत्काल एकता सम्भव नभएको बताए । एमालेसँग एकताको कल्पनासमेत नगरेको र माओवादीसँग एकताको परिस्थिति बनिनसकेको भन्दै उनले भने,‘एमालेसँग एकता नगर्ने भनेर कसम त खाएको छैन । तर कमजोरी, अहमता नसच्चिएसम्म त्यो सम्भवपनि छैन । माओवादीसँगपनि तत्काल एकताको सम्भावना छैन । बरु मोर्चा बनाएर जान सकिन्छ ।’
अध्यक्ष नेपालले तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताए । शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको आस्वासनमा भुलिरहेको टिप्पणी गर्दै उनले भने,‘पहिले प्रचण्डलाई स्वर्ग गएपनि नर्क गएपनि सँगै जाऔंला भनेर मख्ख पारे, अहिले देउवालाई त्यसै भनेका छन् । शेरबहादुर देउवापनि त्यहि कल्पनामा सुतिरहनु भएको होला । कांग्रेस एमाले मिलेसम्म अन्य दलले टाउको फुटाएपनि केहि हुनेवाला छैन । त्यसैले तत्काल सरकार परिवर्तन हुँदैन ।’
अध्यक्ष नेपालले ओली सरकारको सय दिनमा जनताले महशुष गर्नेगरी केहिपनि काम नभएको बताए । सरकारले गरेको काम केहिपनि गरेको देखिदैन,उनले भने,‘जनताले यो सरकारले योचाहिं राम्रो ग¥यो भनेर भनेका छैनन् । त्यसको ज्वलन्त उदाहरण विपद र विकास निर्माणको काम हो । जुन नहुँदा जनताले दुःख पाएका छन् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






