कार्तिक २१ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ ।
मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो । दसँैं, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मङ्गलबार टिकटक प्लेटर्फम विधिवत्रुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिए । सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सुचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ । “अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,” उपसचिव बाँस्तोलाले भने, “सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ।…







