गाँजा (भाँङ)को उत्पादन र बिक्री वितरण खुल्ला गर्न सांसदको माग


     एभरेस्ट आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित




गाँजाको बोट

गण्डकी प्रदेश सभा सदस्य मणिभद्र शर्माले प्रतिबन्धित गाँजा (भाँङ) खुल्ला गर्न माग गरेका छन् । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको विशेष समय लिएर बोल्दै उनले राज्यले भाङमा लगाएको प्रतिबन्ध फुकुवा गरी त्यसको उत्पादन र बिक्री वितरण खुल्ला गर्न माग गरेका हुन् । बागलुङ क्षेत्र नम्बर १ को १ घर भएका शर्मा समानुपातिक सांसद हुन् भने उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत हुन् ।

नेपालमा लागू औषध (नियन्त्रण) ऐन २०३३ ले गाँजा तथा गाँजाजन्य पदार्थहरुको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । ऐनले गाँजालाई लागूऔषधको रुपमा स्पष्ट किटान गर्दै भनेको छ,–‘गाँजा भन्नाले भाँङ र सिद्धसमेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल हो ।’

सांसद शर्माले गण्डकी प्रदेशको पहाडी भुभागमा उत्पादन हुने भाङ कपडा बनाउने लोक्ता, औषधी, तेल तथा अचारमा छोंप हाल्नसमेत प्रयोग गरिने उल्लेख गरे । विदेशमा भाङलाई औषधीका रुपमा प्रयोग गरिने गरेको उदाहरण दिदै उनले नेपालमा भने शक्ति राष्ट्रको चंगुलमा फसेर प्रतिबन्ध लगाइएको दाबी गरे ।

बाँझो जमिनमा प्रशस्त उत्पादन हुनसक्ने सम्भावना भएपनि सरकारको अदूरदर्शिताका कारण भाँङो उत्पादनमा प्रतिबन्ध लगाएपछि नेपालका आयुर्वेदिक औषधी उत्पादकहरुले आवश्यक कच्चा पदार्थ विदेशबाट ल्याउने गरेको उल्लेख गरे । कयौं आयुर्वेदिक औषधी उत्पादक उद्योगहरु भाँङको कच्चा पदार्थ नपाएर छटपटाईरहेका छन्,‘उनले भने,‘त्यसैले ठूला शक्ति राष्ट्रको दवाबमा भाङमाथि लगाइएको प्रतिबन्ध हटाएर भाङ उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । पहाडका बाँझो जमिन गुल्जार गर्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ ।’

गाँजा (भाँङ) खुल्ला गर्नुपर्छ भनेर अभिव्यक्ति दिने शर्मा पहिलो व्यक्ति भने होइनन् । यसअघी गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साललेपनि यस्तै अभिव्यक्ति दिएका थिए । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा ईञ्जोय जोन बनाएर गाँजा र सेक्स खुल्ला गर्ने तयारी प्रदेश सरकारले गरिरहेको बताएका थिए । तर उनको यो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले बोली फेरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।