नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिने भएका छन् ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच सत्ता सहकार्य गर्ने निर्णय भएपनि बिगत डेढ महिनादेखि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा एमाले बसिरहेको थियो । मंगलबार बिहान बसेको एमाले गण्डकी प्रदेश संसदीय दलको बोर्ड बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि औपचारिक रुपमै सरकारबाट बाहिरिन लागेको हो । बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा दिन लगाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए । “एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ”, उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरुसँग एमालले संवाद सुरु गर्छ ।” एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उनको भनाइ छ ।
नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका छन् । गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरुले मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिने भएका छन्…





