नागरिकले स्वःघोषणा गरे कोभिड–१९ बाट संक्रमितको उपचार सरकारले गर्छ : प्रधानमन्त्री


     सन्देश श्रेष्ठ    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचार सरकारले ज्ञारेन्टी गर्ने बताएका छन् । नेपालीको महान चाँड बडादशैंको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्वाचित वर्तमान सरकार कोरोनाको पहिचान, परीक्षण र उपचार गर्ने दायित्वबाट पछाडि नहट्ने बताएका हुन् । तर त्यसका लागि नागरिकले म आफ्नो खर्चले उपचार गर्न सक्दिनँ भनेर स्वःघोषणा गर्नुपर्ने उनको भनाई छ ।

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो,‘उनले अगाडि भनेका छन्,‘अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नुपनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो । यस दायित्वलाई पूरा गर्न तपाईंको मतबाट निर्वाचित यो सरकार कुनैपनि बहानामा पछि हट्दैन ।’ उनले अगाडि थपेका छन्,‘म सम्पूर्ण देशवासी दिदीबहिनी, दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।’ उनले कोरोनाको पहिचान, परीक्षण र उपचार मात्रै नभई कोरोनाजस्तो महामारीबिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागिसमेत सरकार क्रियाशिल रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीले संक्रमण दर उच्च रहेको र काठमाडौं त झन् कोरोनाको केन्द्रजस्तै बनेको टिप्पणी गर्दै यसबाट बच्नका लागि दशैंलाई घरमै सिमित गर्न आग्रह गरेका छन् । उनले कोभिड–१९ को जोखिमका कारण दशैं विगतभन्दा फरक तरिकाले मनाउनुपरेको बताए । मान्यजनबाट टीका, जमरा ग्रहण गर्ने क्रममा नजिकिदा कोरोनाको संक्रमण हुनसक्ने खतरा रहने भएकाले त्यसतर्फ सतर्क रहन आग्रह गरे । उनले भनेका छन्,‘ज्येष्ठ नारिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले नसक्नेले जेसुकै गर नभनेको जिकीर गरे । सरकारले सक्ने आफैं बाँच, नसक्नेले जेसुकै गर भन्नु हल्ला मात्र हो,‘उनले भने,‘सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको ब्यबस्था निरन्तर जारी छ । उनले महामारीबिरुद्धको लडाईंको विषयलाई पक्ष विपक्षको स्वार्थ, दाउपेच र अस्त्रको रुपमा प्रयोग गरेकोतर्फ संकेत गर्दै त्यस्तो कसैलेपनि गर्न नहुने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।