
नेपालीको महान चाड दशैँमा जमरा र टीका प्रयोग गरिन्छ । टीका त हामी जहिले र जतिबेलापनि प्रयोग गरिरहेकै हो । तर दशैंमा प्रयोग गरिने जमराको भने विशेष महत्व छ । जौ र गहुँ छरेर उमारिएको जमरा अनि टीकाले दशैँलाई उमंगमय बनाई दिन्छ ।
हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा मानिन्छ । जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुन्छ, त्यसैले जौको महत्व जोगाइराख्नका लागि पूजाअर्चनामा प्रयोग गर्ने शीरमा सजाउने गरिएको हुनसक्ने अनुमान गरिन्छ । जमरा शब्द संस्कृतबाट आएको आयातित शब्द यवराबाट नै जमरा भएको मानिन्छ ।
दशैंमा टीकासँग जमरा लगाई दिने चलन रहेको छ । जमरासँगै आशिर्वादसमेत जोडिने भएकाले दशैंमा जमराको महत्व छुट्टै छ । जमराले शीरको शोभापनि बढाउँछ । टीका र जमरा लगाएको मासिन असाध्यै राम्रो देखिन्छ भने तस्बिरसमेत सुन्दर आउँछ ।
जमरा शीरको शोभा मात्र होईन, सुन्दर देखिनुका साथै यसको सेवनपनि गुणकारी मानिन्छ । कतिपयले जमरालाई पेलेर जुसको रुपमा सेवन गर्छन् । यसले रक्तचापलाई नियन्त्रण गर्नुका साथै सुगरसमेत कन्ट्रोल गर्छ र रोग निको हुन्छ भन्ने विश्वास गरिन्छ । जसका कारण जमराको जुस खानेको संख्या बढ्दै गएको छ । जमराको जुस सेवन गर्ने संख्या बढेसँगै कतिपयले यसलाई पेशाका रुपमासमेत अंगालेको पाईन्छ ।
जमराको जुसले उच्च रक्तचाप, मधुमेह, अनिन्द्र, मोटोपन, थाईराइड लगायतपनि नियन्त्रण गर्छ भनेर ब्यबसायीहरु बताउँछन् । तर यसको आधिकारिक रुपमा प्रमाणित भएको भनेर कुनै चिकित्सक वा विज्ञले भने भनेका छैनन् । यद्वपी ब्यापारीहरुले जमराको जुसले क्यान्सरसमेत ठीक हुने दाबी गर्दै आएका छन् ।
बजारमा यसरी जमराको जुसको प्रचार र सेवन बढिरहँदा नेपाल सरकार वा स्वास्थ्य मन्त्रालयले यसतिर ध्यान दिएको पाईंदैन । जुसको सेवनबाट रोग निदान हुने÷नहुने र भए त्यसको मात्रासँगै गुणस्तरका बारेमा नियमन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन ।
संस्कृतिविद्हरु भने जमराको महत्व दिनानुदिन बढ्दै गएको बताउँछन् । संस्कृतिविद् डा..जगमान गुरुङ जमरामा औषधीय गुण भएको स्वीकार्छन् । यसले जमराको महत्व र जमरा संस्कृतिलाई सकारात्मक प्रभाव पार्ने उनको भनाई छ । विज्ञानलेसमेत जमरामा औषधीय गुण हुन्छ भनेको भएपनि जरा नहालेको ७ दिन भित्रको जमरा हुनुपर्ने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।