पोखरेली नागरिक अगुवाहरुले आईतबार जारी गरेको संयुक्त वक्तव्य ।
पोखरेली नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि राष्ट्रवादलाई नै बलि चढाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा बिपरित भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्दै पोखरेली नागरिक अगुवाहरुले यो भेट सत्ता स्वार्थका लागि राष्ट्रवादलाई बलि चढाउने हर्कत भएको भन्दै निन्दा गरेका छन् । नागरिक समाज पोखराका अध्यक्ष ईन्द्रकमल मानन्धर, पूर्व अध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेल, विष्णहरि अधिकारी, बरिष्ठ अधिवक्ता तीलक पराजुली र शशी तुलाचनले आईतबार संयुक्त विज्ञप्ती जारी गर्दै ओलीको ‘रअ’ प्रमुख गोयलसँगको भेटले राष्ट्रिय स्वाभिमानलाईसमेत आघात पु¥याएको जनाएका छन् ।
नागरिक अगुवाहरुले ‘रअ’का प्रमुख गोयलसँगको गोप्य भेटपछि जारी शुभकामना सन्देशका बेला पछिल्लो क्रममा थपिएका लिम्पीयाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा र निशानछाप प्रयोग नगरि पुरानै नक्सा अंकित निशानछापको प्रयोगले आम देशभक्त जनता स्तब्ध, आश्चर्यचकित एवम् मर्माहत भएको जनाएका छन् । साथै उनीहरुले पछिल्ला थपिएका भुभागसहितको नक्सा माध्यमिक तहको पाठ्यक्रममा समेटिएपनि सो पुस्तकमाथि रोक लगाउनु आपत्तिजनक भन्दै सोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नागरिक अगुवाहरुले ओलीको पछिल्लो हर्कतलाई हेर्ने हो भने ओलीले प्रतिपादन गरेको ‘राष्ट्रवाद’ सत्तामा पुग्न र सत्ता टिकाउनका लागि प्रयोगका लागि रचिएको चालबाजीको रुपमा घामजस्तै छर्लङ्ग भएको उल्लेख गरेका छन् ।
भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपालमा अस्थिरता र विखण्डनका लागि षडयन्त्र गर्दै आएको भन्दै उनीहरुले त्यसले पीडाबोध भएको बताएका छन् । उनीहरुले कोरोना महामारीजस्तो वर्तमान विषम परिस्थितिमा ‘रअ’ प्रमुख गोयलद्वारा गरिएको नेपाल भ्रमणको उद्धेश्य, कुटनीतिक नियोग र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिलाईसमेत जानकारी नदिई प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग गोप्य भेटवार्ता गर्नुको कारण, गोप्य वार्ताका विषयहरु के के थिए ? भन्नेबारेमा आम नेपाली जनतालाई सार्वजनिक रुपमा जानकारी गराउन माग गरेका छन् ।
नागरिक अगुवाहरुले त्रुटीपूर्ण नक्सासहितको निशान छाप प्रयोग गरेकोमा प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेका छन् । साथै उनीहरुले अब आईन्दा त्यस्ता हर्कत नदोहो¥याई प्रधानमन्त्रीको पदअनुसारको कुटनीतिक व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गर्नसमेत माग गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।