कोरोना महामारीबीच भारतको बिहारमा विधानसभाका लागि हिँजो (बुधबार) पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ ।
बिहारमा ३ चरणको चुनावमध्ये पहिलो चरणमा ७१ पदका लागि १ हजार ६६ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये ९ सय ५२ जना पुरुष र १ सय ५५ जना महिला छन् ।
बिहानैदेखि भइरहेको मतदानमा कोरोना भाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ ।
बुधबार मतदान भइरहेको क्षेत्रमा कुल २ करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता छन् । तीमध्ये पुरुष १ करोड १२ लाख ७६ हजार ३ सय ९६ जना र महिला १ करोड १ लाख २९ हजार १ सय १ रहेको आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न गराउन ७८ हजार ६ सय ९१ जना निर्वाचन कर्मचारी खटिएका थिए । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो ।
मतदानका बेला अपनाउनुपर्ने मापदण्डबारे निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको थियो । भारतमा कोरोना भाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन भएको हो ।
मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नुपर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका कुरा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सतर्कताका साथ मतदान कार्यमा सहभागी हुन सबैलाई अपिल गरे । मापदण्डहरु पूर्ण रुपमा पलना गर्न पनि उनले आग्रह गरेका थिए ।
एपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।