कर्णालीका मुख्यमन्त्री शाहीले ओली पक्षलाई हटाएर नया मन्त्री थप्दै


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री परिषद हेरफेर गर्ने तयारी गरेका छन् । आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि रुष्ट रहेका उनले ओली पक्षका २ मन्त्रीलाई हटाएर ३ मन्त्री थप्ने तयारी गरेको श्रोतले बताएको छ । नेकपा भित्रको शक्ति संघर्ष र कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षतर्फ जाँदै गर्दा शाहीले ओली पक्षीय मन्त्रीलाई हटाएर नेपाल पक्षका मन्त्री थप्ने तयारी गरेका हुन् । सम्भवतः आज नै उनले मन्त्री परिषद पुर्नगठन गर्नेछन् ।

मुख्यमन्त्री शाहीले ओली पक्षीका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी गरेका छन् । त्यस्तै, यसअघी खाली रहेको भौतिक पूर्वाधार मन्त्रालयमापनि नया अनुहार थप्ने शाहीको तयारी छ । ओली पक्षका खड्कबहादुर खत्री बैंकिङ कसुरमा कारबाहीमा परेपछि भौतिक पूर्वाधार मन्त्रालय शाही आफैले राखेका थिए ।

मुख्यमन्त्री शाहीले आज मन्त्री परिषद पुर्नगठन गरेर चन्द्रबीर शाही, करबीर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने तयारी गरेको श्रोतको दाबी छ । नया मन्त्री बन्ने भनिएका तीनै जना नेपाल पक्षीय हुन् । कसलाई कुन मन्त्रालय दिने भन्नेचाहिं सार्बजनिक भइसकेको छैन ।

यसैबीच, आफूलाई मन्त्रीबाट बर्खास्त गर्न लागेको भन्ने सुईंको पाएपछि सामाजिक विकास मन्त्री दल रावलले सामाजिक सञ्जाल फेसवुकबाट पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । उनले ३२ महिनामा आफूले सकेको काम गरेको उल्लेख गर्दै यहाँसम्म आउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।