पोखरा । लायन्स क्लब अफ पोखराले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आगामी मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा स्वर्ण महोत्सव समारोह आयोजना गर्ने भएको छ।
सन् १९७६ नोभेम्बर १० अर्थात् वि.सं. २०३३ मा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चलको पहिलो लायन्स क्लब हो। पाँच दशकदेखि शिक्षा, स्वास्थ्य, मानवीय सहायता, सामाजिक सचेतना तथा सामुदायिक विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएको क्लबले आफ्नो सेवायात्रालाई ऐतिहासिक उत्सवका रूपमा मनाउन लागेको स्वर्ण महोत्सव मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले बताउनु भयो।
गोशलीका अनुसार लायन नवराज पटेल तथा उहाँको टोलीको पहलमा पोखरामा लायन्स क्लब स्थापना गर्ने अभियान सुरु भएको थियो। प्रारम्भमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिए पनि उहाँ शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई औपचारिक रूपमा अगाडि बढाइएको थियो।
क्लबका अनुसार स्वर्ण महोत्सव समारोहमा नेपालका सार्वजनिक तथा व्यवस्थापकीय क्षेत्रका विशिष्ट व्यक्तित्व, लायन्स नेतृत्व, संस्थापक सदस्य, पूर्वअध्यक्ष, वरिष्ठ लायन्स सदस्य, व्यवसायी तथा समाजसेवीहरूको सहभागिता रहनेछ।
समारोहमा क्लब स्थापनादेखि विभिन्न समयमा नेतृत्व प्रदान गर्ने संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पुर्याउने अग्रजहरूलाई सम्मान गरिनेछ। साथै, क्लबका पाँच दशकका सामाजिक गतिविधि, उपलब्धि, ऐतिहासिक अभिलेख तथा लेखहरू समेटिएको विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन गरिने कार्यक्रम रहेको छ।
पोखरा तथा आसपासका क्षेत्रबाट संस्थापक सदस्य, पूर्वअध्यक्ष, लायन्स नेतृत्व, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्तित्व र शुभेच्छुकसहित करिब १ हजार २०० जनाको सहभागिता रहने लक्ष्य आयोजकले लिएको छ।
क्लबले स्थापनाकालदेखि सञ्चालन गर्दै आएका सामाजिक गतिविधिलाई जनसमक्ष पुर्याउन सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै स्वर्ण महोत्सवको समाचार सङ्कलन, प्रचारप्रसार तथा व्यापक जनसमक्ष पुर्याउन सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारलाई अनुरोध गरेको छ।
स्वर्ण महोत्सव मूल समारोह समितिका मुख्य संयोजक गोशलीले पाँच दशकको सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक योगदानको समीक्षा तथा अग्रजहरूको सम्मानका रूपमा समारोह आयोजना गर्न लागिएको जानकारी दिनु भयो।
पत्रकार सम्मेलनमा क्लबको इतिहास, सामाजिक सेवा र योगदानबारे लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोला र पूर्व डिस्ट्रिक्ट गभर्नर मिलन थापाले मन्तव्य राख्नु भएको थियो।
क्लबका संस्थापक सदस्य मेहरमान श्रेष्ठले क्लब स्थापनाकालिन कथा र सामाजिक गतिबिधिजन्य सेवा स्मरण गर्नु भएको थियो ।
क्लबका अध्यक्ष डा. माधवबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्र्त पत्रकारसहित लायन्स क्लवको नेतृत्व, संस्थापक सदस्य, पूर्वअध्यक्ष, लायन अफ द पोखरा गणेशबहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक प्रा.डा. बुद्दिबहादुर थापा, पूर्ब मल्टिपल लायन्स चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ लायन्स सदस्य, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध अगुवा र समाजसेवीहरूको सहभागिता रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १७ सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङबिरुद्ध भ्रम फैलाएको आरोपमा…







