पोखराबाटै फ्लाई दुबईमार्फत दुबईहुँदै ओमान उड्यो नेपाली यू-१९ राष्ट्रिय टोली


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १६

एसीसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी हुन नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली पोखराबाटै ओमान प्रस्थान गरेको छ । ओमानमा यहि कात्तिक १९ देखी २८ गतेसम्म आयोजना हुने एसिया कपमा सहभागी हुन नेपाली टोली सोमबार फ्लाई दुबईको विमान चढेर दुबईहुँदै ओमान प्रस्थान गरेको हो । टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघ र कास्की जिल्ला क्रिकेट संघका पदाधिकारी तथा शुभचिन्तकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेको हो । टोली दुबईहुँदै ओमान पुग्ने गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

१५ सदस्यीय टोलीलाई सोमबार अपराह्न एक औपचारिक कार्यक्रम गरेर विदाईसमेत गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले क्रिकेट टोलीलाई पोखराबाट विदाई गर्न पाउँदा गौरवान्वित महशुष गरेको बताए । फ्लाई दुबईमार्फत पोखराबाट सिधै दुबईहुँदै ओमान पठाउन पाउँदा हामी अत्यन्त हर्षित छौं,उनले भने,‘आशा छ टोलीले ओमानमा उच्च मनोवलका साथ उत्कृष्ट प्रदर्शन गर्नेछ ।’

महानगर प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अभ्यास खेलका लागि पोखरा रोजेकोमा क्यानलाई धन्यवाद दिए । पोखराले राष्ट्रिय टोलीलाई आतिथ्यता गर्न पाउनु गौरवको कुरा हो,उनले भने,‘हामी चाहन्छौं ः खेलाडीको मेहनत, लगनशिलता र सामुहिक प्रयासले सफलता प्राप्त हुनेछ ।’

नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले पोखराबाट सिधै दुबईहुँदै ओमान प्रस्थान गर्न पाउनू खुशीको कुरा भएको बताए । काठमाडौं पुगेर उड्दा समय धेरै लाग्नसक्ने भए पनि पोखराबाट उड्दा समयको बचत भएको बताउँदै उनले भने,‘पोखराको अभ्यास एकदमै राम्रो छ । आशा छ हामीले गरेको मेहनत अनुसार नै नतिजा ल्याएर देशको शीर उचो बनाउँछौं ।’

प्रशिक्षक वसन्त शाही ठकुरीले प्रतियोगितामा नतिजाको चिन्ता नगरी खुलेर खेल्ने बताए । टेष्ट म्याच खेल्ने राष्ट्रसँगको प्रतिस्पर्धामा टोली नडराई खेल्छ,उनले भने,‘यो प्रतियोगिता नेपाली खेलाडी र देशका लागि भाग्य र भविष्य बदल्ने प्रतियोगिता हो । ठूलो स्टेजमा खेल्न गइरहेकाले यसको महत्व छुट्टै छ ।

राष्ट्रिय यू–१९ टोलीले पोखरामा पाँच दिन बन्द प्रशिक्षण गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।