देशभर ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन, पोखरामा करिब ३१ हजार बालबालिकाहरूलाई औषधी खुवाइने


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८३ मा प्रकाशित




सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे । थापाका अनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । पोखरा महानगर क्षेत्रमा पनि भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान शुभारम्भ गरिएको छ ।अभियानको नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । भोलीसम्म चल्ने अभियानका क्रममा महानगर क्षेत्रमा रहेका करिब ३० हजार ८ सय बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधी खुवाइनेछ ।

महानगर भित्र रहेका स्वास्थ्य संस्थाहरू तथा तोकिएका वितरण केन्द्रमार्फत बालबालिकालाई औषधि खुवाउने व्यवस्था मिलाइएको छ । आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नगर प्रमुख आचार्यले सम्पूर्ण अभिभावकलाई आग्रह गरेका छन् । बालबालिकाको स्वस्थ विकास, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा पोषण सुधारका लागि राष्ट्रिय भिटामिन कार्यक्रम महत्त्वपूर्ण रहेको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताउनुभयो । अभियानमा महानगरपालिकामा सबै महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका र स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।