कोरोना भाइरसले विश्वव्यापी दोस्रो दोस्रो पटक महामारीको रुप लिएपछि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपाली छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन्। यद्यपि, यो साता विदेशमा कुनैपनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन।
विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सय ६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।
गत सातासम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको संघले जनाएको छ ।
अनावश्यक यात्रा नगरौँ
संघले अत्यावश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। कोरानो भाइरसको विश्वव्यापी संक्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन शुरु भएको अवस्थामा अत्यावश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो।
संघअन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरेका छन्। स्वास्थ्य समितिले सार्वजनिकस्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।