संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टामा नेपाल मात्र लेख्ने सरकारको निर्णय सच्याउन नेकपा नेता यादवको माग


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका सांसद मात्रिकाप्रसाद यादवले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने भनेर निर्णय गरेको सच्याउन माग गरेका छन् । पूर्व मन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली नेता यादवले बुधबार विज्ञप्ती प्रकाशित गर्दै सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टामा नेपाल मात्र लेख्ने भनेर सरकारको गरेको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय सच्याउन माग गरेका हुन् ।

नेपाल सरकारको गत असोज ११ गते बसेको मन्त्री परिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टामा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो । त्यसलगत्तै गत असोज २८ गते कानून मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टामा नेपाल मात्र लेख्न मातहतका सबै निकायहरुमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

नेता यादवले संविधान अनुसार देश चलाउनुको सट्टा ओलीले आफ्नो व्यक्तिगत ईच्छा अनुसार देश र सरकार चलाईरहेको आरोप लगाउँदै विज्ञप्तीमा भनेका छन्,‘यो महान् जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं महान् शाहिदहरूको अपमान र संघीयता विरोधि कदम भएकाले यसको भत्र्सना गर्दछु ।’ उनले शाहिदहरूको सपना, क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन सम्पूर्णमा अपिलसमेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।