यही कार्तिकको १४ गतेदेखि म्याग्दीको सदरमुकाम बन्द बेनी बजार र सेवा ११ दिनपछि खुलेको छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न कार्तिक २८ गतेसम्मका लागि बेनी बजार बन्द गराइएपनि २ दिनअगावै जिल्ला प्रशासन कार्यालय म्याग्दीले बजार खोलेको हो।
बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको हो।
लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कार्तिकको १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कार्तिक २८ गतेसम्म लम्ब्याइएको थियो।
कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो।
करिब ५ सय ८१ घरको ३ हजार ९ सय ९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो।
प्रशासनले भिड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर, मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो।
तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव, भेला गर्न रोक लगाइएको भन्दै प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ।
मंगला गाउँपालिकाले मंसीर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन्।
बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको जनाएको छ।
म्याग्दीमा हालसम्म १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जिल्लाबाहिर संक्रमण पुष्टि भएका म्याग्दीका ११ जनाको औपचारिक र सात जनाको अनौपचारिक जानकारी छ।
म्याग्दीबाट २ हजार १० वटा स्वाबको नमूना परीक्षणका लागि पठाइएकोमा १ हजार ९ सय ७६ वटाको नतिजा आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।