पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ।
कोरोना संक्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे संक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार ३ जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे संक्रान्तिमा ३६ घण्टाको अवधिमा ५ लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्यांक छ।
कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसंक्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिए । उनले भने, ‘बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं ।’ स्वास्थ्य सतर्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उनको भनाई छ।
देवघाटमा माघे संक्रान्तिका अवसरमा २ दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे छ। छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन्। मेला व्यवस्थापन गर्न ३ जिल्ला चितवन, तनहुुँ र नवलपरासीका सुरक्षा निकाय खटिने गर्दथे। पुस मसान्तमा बेनीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ। मेला नभएपनि विधि भने पूरा गरिने जनाइएको छ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति भनिएको हो। सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हँुदै जाने विश्वास गरिन्छ।
भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







