आइपुग्यो कोरोना विरुद्धका खोप


     एभरेस्ट आवाज    
     माघ ८ गते २०७७ मा प्रकाशित




भारत सरकारले नेपाललाई अनुुदानमा उपलब्ध गराइएको कोरोना विरुद्घको खोप बिहीबार त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा ।तस्वीर : रोशन सापकोटा

काठमाडाँ। कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै खोपले अब कोभिड–१९ रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ ।

उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो ।

सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ । सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।