गण्डकी प्रदेश सामाजिक विकास मन्त्री पुन कोरोनामुक्त


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन कोरोना संक्रमणमुक्त भएकी छन्।

१५ औं दिनमा मन्त्री पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

२१ माघमा संक्रमण पुष्टि भएपछि उनी पोखरा महानगरपालिका ३० मोहरियास्थित प्रदेश सरकारकै संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत् थिइन्।

मन्त्री पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य उपचारमा खटिएका सरुवा रोग अस्पतालका निर्देशक एवं संपूर्ण टिम, शुभेच्छुक, गण्डकी प्रदेश मुख्यमन्त्री लगायतलाई आभारसहित धन्यवाद प्रकट गरेकी छन्।

मन्त्री पुनले फेसबुकमा लेखेकी छन, ‘मेरो स्वास्थ्य उपचारमा दिनरात खटिनु हुने संक्रामक तथा सरुवा रोग अस्पतालको निर्देशक ज्यू लगायत सम्पूर्ण टीम, मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्यलाभको कामना गर्नुहुने गण्डकी प्रदेश सरकारको माननीय मुख्यमन्त्री ज्यू लगायत सबै सबै महानुभावहरुमा हार्दिक आभार सहित धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु ।’

प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, अस्पताल निर्देशक डा. गौचन, अस्पतालका स्वास्थ्यकर्मीले मन्त्री पुनलाई फूलगुच्छा दिएर बुधबार बिदाइ गरेका थिए। कोरोना संक्रमणका कारण मंगलबार प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा उनी अनुपस्थित थिइन्।

कोरोना पुष्टि भएका सामाजिक विकास सचिव बिनोद कुँवर भने हाल होम आइसोलेसनमा छन्। मन्त्री पुनको रिपोर्ट पोजेटिभ आएपछि सचिव कुँवरले कोरोना परीक्षण गराएका थिए । उनको रिपोर्ट २४ माघमा पोजेटिभ आएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।