अशक्त र ज्येष्ठ नागरिकले अर्को सातादेखि आफ्नै घरमा कोरोनाविरुद्धको खोप लगाउँदै


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित




अशक्त र ज्येष्ठ नागरिकहरुले अर्को साताबाट घरमै बसेर कोभिड–१९ विरुद्धको निःशुल्क खोप लगाउन पाउने भएका छन्।

सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको बताए। त्यसअघि सरकारले संघीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ।

समुदायमा खोप लगाउनुअघि सकारात्मक सन्देश दिन सांसदहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि सरकारले पहिलो प्राथमिकतामा परेकालाई खोप लगाइसकेको छ।

पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ लाई लक्ष्य गरिएकामा ४ लाख २९ हजार ७ सय ५ अर्थात् ८४ दशमलव ६५ प्रतिशले खोप लगाएका मन्त्रालयले जनाएको छ।

खोप लगाउने नागरिकको यो संख्या उत्साहप्रद रहेको मन्त्रालयको विश्लेषण छ। मन्त्रालयका कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीकाअनुसार अहिलेसम्म नेपालका लगाइएका खोपबाट १ हजार ९ सय ११ लाई मात्रै सामान्य प्रकारको असर देखिएको छ।
ती असरमा सुई लगाएको भागमा दुख्ने, सुन्निने, गाँठो पर्ने, टाउको दुख्ने, जिउ र जोर्नीहरु दुख्ने, रुघाखोकी लाग्दा फ्लु जस्ता चिह्न तथा लक्षण देखिने, मध्यम ज्वरो आउने, वाकवाक लाग्ने जस्ता सामान्य समस्या देखिएका थिए।

ती समस्या केही दिनमा आफैँ ठिक भएका पनि उनले बताए। यसैबीच सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ। गएको माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानस्वरुप नेपाललाई उपलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ।

बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। कुल जनसंख्याको २० प्रतिशतलाई खोप लगाइसकेपछि सरकारले निजी क्षेत्रलाई पनि तोकिएको मूल्य र संस्थाबाट लगाउने गरी आयात गर्न अनुमति दिने तयारी गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।