गण्डकी । गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीको कालो भटमास भन्दै अहिले पनि पोखरा आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । विडम्बना उक्त फाँटमा भने प्राचीनकालदेखि फल्दै आएको कालो भटमास अहिले पाउन मुस्किल भइसकेको छ ।
पछिल्ला वर्षमा कृषिप्रतिको बढ्दो अनिच्छासँगै यहाँको कालो भटमास नाममा मात्रै सीमित बन्ने चिन्ता बढेको स्थानीयवासी सरस्वती कुमाल बताए । पछिल्ला वर्षमा धेरैले खेती गर्न छोडेका कारण यस क्षेत्रमा भटमासका साथै बोडी, मास आदि पनि कम हुँदै गएको उनको भनाई छ ।
अधिकांश स्थानमा भटमास खेती लगाउन सकिने र अन्य कोदो तथा मकैभन्दा यसबाट १५ देखि २० गुणासम्म बढी फाइदा लिन सकिने स्थानीय कृषकको भनाइ छ । भटमासको राम्रो उत्पादन हुने भएकाले नै प्राचीनकालदेखि भटमासफाँटका रुपमा चर्चित यस क्षेत्रमा व्यावसायिक गाईपालन, बङ्गुर पालनसँगै, ड्रागन फलको खेती सुरु गरिए पनि आसपासका धेरै स्थानमा खेती नगर्दा जग्गा बाँझै अवस्थामा रहेको उनीहरू बताउँछन् ।
झण्डै एक दशक अघिसम्म बारीभरि लटरम्म फल्ने कालो भटमाससँगै यस क्षेत्रमा पाइने घैया धान पनि लगभग लोप भइसकेको अर्की स्थानीय देउकुमारी कुमालले बताए । सिँचाइको सुविधा नभएका पाखामा लगाउन सकिने घैया धान यस क्षेत्रमा एक दशकअघिसम्म राम्रै फल्ने गरेको बताउँदै उनले पछिल्ला वर्षमा भने लगभग हराइसकेको जानकारी दिए ।
खानमा मिठो तथा पोषक घैया धान सामान्यतः मकै बालीभित्र वैशाख–जेठको समयमा छर्ने गरिन्छ । अर्को धानजस्तो पानी आवश्यक नहुने भएकाले सिँचाइको अभाव रहेका स्थानमा घैयाको उत्पादन गरी भात खाने गरिन्छ । पौष्टिक तत्वको मात्रा धेरै हुने घैयामा विभिन्ना औषधिय गुण पनि हुने गर्दछन् ।
घैया धानको चामलको भात बास्नादारका साथै स्वादिष्ट हुने भए पनि पछिल्ला पुस्ताका लागि यो एकादेशको कथाजस्तै बन्ने अवस्थामा पुगेको छ । च्याङ्लीको भटमास फाँट पानीको चरम अभावयुक्त स्थान भएका कारण पनि प्राचीनकालदेखि यहाँका स्थानीय भटमास, मासका साथै घैया खेतीमा लागेको हुनसक्ने अर्की स्थानीय सविना कुमालले बताए ।
पानीको अभावका कारण पनि खेतीतर्फ कृषक आकर्षित नभएको हुनसक्ने उनले बताए । यस क्षेत्रमा पानीको समस्या प्राचीनकालदेखि रही आए पनि त्यसको अझै समाधान हुन नसकेको समाजसेवी एवं च्याङ्लीस्थित भटमासफाँटमा गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्म सञ्चालन गर्दै आएका केवि कुमाल भनाइ छ ।
पृथ्वी राजमार्गको डुम्रे बजारमा तीन किलोमिटर तल नयाँ पुलबाट जम्मा डेढ किलोमिटर दूरीमा रहेको च्याङ्लीको भटमासफाँट खानेपानीलगायतका कारण राजमार्गको यति नजिकजस्तै भएर पनि दुर्गमजस्तै बनेको उनले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






