तायाःमचा नृत्य प्रतियोगितामा खुल्लातर्फ तेर्सापट्टी र महिलातर्फ नदीपुर प्रथम


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज ४

पोखरामा आयोजित तायाःमचा नृत्य प्रतियोगिता–२०८३ मा तेर्सापट्टी र नदीपुर प्रथम भएका छन् । नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको आयोजनामा पोखरा–१६ लामाचौरमा आयोजित २७औँ संस्करणको प्रतियोगितामा खुल्लातर्फ नदीपुर तायाःमचा नाच समिति तथा महिलातर्फ नदीपुर तायाःमचा नाच समिति प्रथम भएका हुन् ।

प्रतियोगितामा प्रथम हुने खुल्लातर्फको तेर्सापट्टी तायाःमचा नाच समितिले १ लाख १ हजार १ सय ११ तथा महिलातर्फ प्रथम हुने नदीपुर तायाःमचा नाच समितिले ४० हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरे ।

तायाःमचा संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा खुल्लातर्फ पृथ्वीचोक नेवाः कचा खल द्वितीय, नया बजार सांस्कृतिक समिति तृतीय र रानीपौवा तायाः मचा नाच समितिले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा द्वितीय हुने पृथ्वीचोक कचा खलले ७७ हजार ७ सय ७७, द्वितीय हुने नयाबजार सांस्कृतिक समितिले ५५ हजार ५ सय ५५ तथा सान्त्वना स्थान प्राप्त गर्ने रानीपौवा तायाःमचा नाच समितिले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।

यसैगरी महिलातर्फ शिशुवा नेवा कचाः खलले द्वितीय स्थान प्राप्त गर्दै नगद ३० हजार, बाग बजार तायाःमचा नाच समितिले तृतीयहुँदै २५ हजार र रुपा देउराली नेवाः कचा खलले सान्त्वना स्थान प्राप्त गर्दै नगद १५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शेरचनले नेवार समुदायले आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गरेर उदाहरणीय कार्य गरेकोभन्दै प्रशंसा गरे । उनले भने,‘तायाःमचा, गाईजात्रा, लाखेनाच लगायत सांस्कृतिक गतिविधिमार्फत समुदायले परम्परालाई पुस्तान्तरण गरिरहेको छ ।’ संस्कृति संरक्षणले देशको राष्ट्रियता बलियो बनाउन भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्न टेवा पुग्ने उनको भनाई थियो ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायःमचा नृत्य नेवार समुदायमा मात्र सीमित नभई सबै जातजाति र समुदायको साझा संस्कृति बन्दै गएको बताए । ‘संस्कार, संस्कृति पहिचान हो, यहि पहिचान संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै पुस्तान्तरण गर्ने प्रयास स्वरुप हामीले तायाःमचा नृत्य प्रतियोगिता आयोजना गर्दै आएका छौं’–उनले भने । २०५८ सालतिर पोखरामा आठ वटा टोलमा मात्रै तायाःमचा नृत्य प्रदर्शन हुने गरेकोमा अहिले बढेर झण्डै ४० ठाउँमा हुन थालेको उनले बताए ।

गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । ‘पूर्वजबाट हस्तान्तरण हुँदै आएको संस्कृति नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने जिम्मेवारी अहिलेको पुस्ताको हो’–उनले भने ।

बिजेताहरुलाई प्रमुख अतिथि मन्त्री शेरचन, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, पूर्व मन्त्री गुरुङ, तायाःमचा नृत्य प्रतियोगिताका मूल समारोह समिति संयोजक सुशीलकुमार श्रेष्ठ, सचिव योगेन्द्र श्रेष्ठलगायतले वितरण गरेका थिए । पुरस्कार पोखरा–३ तेर्सापट्टीका रामकाजी, रविन्द्र, शंकर र कवीन्द्र श्रेष्ठको परिवारले आफ्ना स्वर्गीय मातापिता बालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा वार्षिक १० लाख रुपैयाँ प्रदान गर्दै आएको छ ।

कार्यक्रममा पुरस्कार प्रायोजक रविन्द्र श्रेष्ठ र शंकर श्रेष्ठ तथा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेलाई प्रतियोगिता सञ्चालन तथा संस्कार–संस्कृति संरक्षणमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।