गल्याङ । रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्डअन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
नेपाल–भारत सुनौली नाकाबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, मुस्ताङ र मनाङ जोड्ने यो छोटो बाटो हो । पुरानो पुल २०२८ सालमा निर्माण भएको हो । हाल सञ्चालनमा रहेको उक्त पुल जीर्ण बनेपछि सरोकारवालाले नयाँ पुल बनाउन माग गर्दै आएका थिए ।
पुल महाशाखाले ‘आर्च थु्र’ डिजाइनको मोटरेबल पुल निर्माणको जिम्मा, रेखदेख, ठेक्का सम्झौतालगायत काम गरेको छ । राम्दीमा बन्न लागेको मोटरेबल पुलको डिजाइन अमेरिका र थाइल्यान्डमा पुल निर्माणको क्षेत्रमा काम गरेका नेपालीले तयार पारेको पुल सेक्टर पोखराका प्रमुख नवराज बाँस्तोलाले बताए ।
आर्च थ्रु डिजाइनमा निर्माण हुन लागेको मोटरेबल पुलको लम्बाइ एक सय आठ मिटर र चौडाइ ११ मिटरको हुने छ । नयाँ बन्ने पुल पुरानो ट्रस ब्रिजभन्दा १५ मिटर बढी लामो र पुरानो पुलसँग जोडेर पूर्वपट्टि निर्माण हुने छ ।
पुल तीन वर्षमा सक्ने गरी २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । “डिजाइन समयमै तयार नहुँदा निर्माणमा ढिलाइ भएको हो”, बाँस्तोलाले भने। पुल निर्माणका लागि रु २७ करोड ७१ लाखको सम्झौता भएको छ ।
ट्रस ब्रिज जीर्ण हँुदा सवारीसाधन आवगमनमा खतरा भएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । अहिले पुलमा जोखिम बढेको भन्दै १५ टनभन्दा बढी क्षमता भएका सवारीसाधनलाई आवागमनमा रोक लगाइएको छ ।
“पुल जीर्ण हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लाका व्यापारीले नोक्सानी व्यहोर्नुपरेको छ”, उनले भने, “राम्दीको पुल स्याङ्जाको लाइफ लाइन पनि भएकाले लामो समयको पहलपछि पुल बन्ने भएपछि आशा जगाएको छ ।”
गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष धु्रव श्रेष्ठले १५ टनभन्दा बढी सामान बोकाएर ढुवानी गर्न नपाउँदा व्यापारी तथा उपभोक्ता मर्कामा परेको बताए ।
“सुनौली हुँदै आउने १५ टनभन्दा बढी मालसामान बोकेका गाडी गैँडाकोट–चितवन–पोखरा हुँदै स्याङ्जा आउनुपर्ने बाध्यता छ”, उनले भने, “लामो दूरीबाट सामान ढुवानी गर्नुपर्दा स्याङ्जामा सामान महँगो पर्ने गरेको छ, धेरै सङ्घर्षपछि अब भने राहतको महसुुस गरेका छौँ ।”
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







