गोरखामा हिउँदे सिँचाइका लागि पानी सङ्कलन


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित




गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ ।

सुक्यायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए।

बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँको सुक्यायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए ।

“महादेवटार ठूलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ, तरकारी खेतीका लागि मात्र भने पनि मोटर लगाएर नदीबाट पानी तानेर सिँचाइ गर्ने गरी पोखरी निर्माण गरिएको हो”, वडाध्यक्ष श्रेष्ठले भने।

पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करिब दुई सय घरपरिवारले करेसाबारीमा हिउँदे सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी रामकुमार दरैले जानकारी दिनुभयो । “नदीमा मोटर जडान गरी फलामको पाइपमार्फत पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ”, उनले भने, “यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिनसक्ने सक्नेछन् ।”

पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रका करिब पाँच सय रोपनीभन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिँचाइ गर्न सकिने उनको भनाइ छ ।

“लिफ्टमार्फत बूढीगण्डकीको पानी तानेर पोखरीमा पानी जम्मा गरी हिउँदमा तरकारी बालीमा सिँचाइ गर्ने योजनाअनुसार पोखरी निर्माण गरिएको हो”, उनले भने, “योजना सम्पन्न भए पनि कम्तीमा यहाँका स्थानीयवासीले आफ्ना लागि आफँैले तरकारी खेती गर्न पाउने भएपछि बाहिरबाट तरकारी आयात गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्छ ।”

योजना सम्पन्न भए पनि आगामी हिँउददेखि महादेवटारका किसानले हिउँदे तरकारी बालीका लागि सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी दरैले बताए । योजना सम्पन्न गर्न स्थानीयवासीले उपभोक्ता समितिमार्फत पोखरी निर्माण गरिरहेको उनले जानकारी दिए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।