गोरखामा अवैधरूपमा माछा मार्ने दुईजना पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित




प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए । जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।