साउन ४ काठमाण्डौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताए । उनले भने, “सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष र बाँकी विषयहरु बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं ।”
चेम्बर अफ कमर्सले नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो । सो अवसरमा अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्य समितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिए ।
आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैङ्क तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आकर्षण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए । उनले भने, “अर्थतन्त्र शिथिलताबाटै गु्रज्रिरहेको छ । आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता छ, ।”
कालोसूचीमा पर्न लागेका उद्यमी–व्यवसायीलाई उद्योग–व्यवसायको प्रकृति हेरेर आवश्यकताअनुसार बैङ्क तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







